झापा/बडादसैँअन्तर्गत आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज देशभर धुमधामसहित मनाइँदैछ । यस दिन भक्तजनले नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी घर–घर र शक्तिपीठमा श्रद्धा अर्पण गर्दैछन्।
महानवमीको अवसरमा घटस्थापनाका दिन राखिएको जमरा विभिन्न शक्तिपीठमा चढाइन्छ। दसैँघर, कोतलगायत राज्यका देवी मन्दिरहरूमा आज दुर्गा भवानीको विशेष पूजा सम्पन्न हुँदैछ।
परम्पराअनुसार बोका, राँगा, हाँस र कुखुराको बलि दिइन्छ भने पशुबलि नदिने स्थानमा कुभिण्डो, काँक्रो, घिरौँला, मूला र जटा नरिवल चढाउने गरिन्छ।
महानवमी तिथिको धार्मिक महत्त्व मार्कण्डेय पुराणसँग जोडिएको छ। पुराणअनुसार यही दिन चामुण्डा देवीले रक्तवीज राक्षसको वध गरेकी थिइन्। त्यसैले यो पर्वलाई असुरमाथि देवशक्तिको विजयको प्रतीकका रूपमा मनाइन्छ।
देशभरका शक्तिपीठ र देवी मन्दिरमा आज बिहानैदेखि नै भक्तजनको भीड लागेको छ।
कतिपय स्थानमा पञ्चबलि दिने परम्परा कायम छ भने नवदुर्गामध्येकी नवौँ देवी सिद्धिदात्रीको विशेष पूजा गरी कन्यापूजा र दक्षिणा दिने चलन पनि रहेको छ। साथै महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना गरी धार्मिक अनुष्ठान सम्पन्न गर्ने प्रचलन छ।
यसै दिन कोतपूजा र निशानापूजा पनि गरिन्छ। राजधानीको हनुमानढोका दरबारदेखि नेपाली सेनाका ब्यारेक र गुल्मसम्म बाजागाजासहित जङ्गी निशाना पूजा गर्ने परम्परा रहिआएको छ।