लहानकी सीताको पीडा: ‘जसलाई गरिबीले पलपल मारिरहेको छ’

  • असोज १०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

लहान/  लहान नगरपालिका–१४ बस्तीपुरको एउटा छानो, जहाँबाट पानी चुहिरहेको छ। झुप्रोको कुना–कुना चिसिएको छ, तर त्योभन्दा चिसो बनेको छ सीता पासवानको मन। असोज २ गते, श्रीमान् बद्री पासवानको निधनसँगै सीताको जीवनमा आँधी हुरी चलेको छ।

श्रीमान् गुमाइसकेपछि तीन नाबालक छोराको जिम्मेवारी सीताको काँधमा आइपुगेको छ । भोकसँगको सङ्घर्ष र भविष्यप्रतिको अनिश्चितता एकै पटक आइपरेको छ।‘तेह्र दिनको किरिया कर्म गर्नुपर्छ, अझै केही दिन बाँकी छ । भरदिन मजदुरी नगरे बेलुका मुखमा माड लाग्दैन। कसरी बालबच्चालाई खुवाउने भन्ने चिन्ता छ’, आँखाभरि आँसुले बोल्न अवरोध गरिरँदा पनि उनले हामीसँग भनिन्। तीन नाबालक छोराहरू, जो क्रमशः कक्षा ९, ८ र ५ मा अध्ययनरत छन्। आमासँग कुरा गरिरहँदा बुबाको मृत्युबारे बुझे÷नबुझे झैँ अनुहार लुकाउँदै तीनै भाइ भित्तातिर हेरेर टोलाइरहेका थिए।

बद्री पासवान चार वर्षदेखि गम्भीर रोगसँग लडिरहनुभएको थियो । सुरुमा उहाँलाई ‘डाइबेटिज’ भयो, पछि दुवै मिर्गौलाले काम नगरेर प्राण त्याग गर्नुप¥यो ।
सीता र छोराहरूको सङ्घर्ष त उहाँ बिरामी भएसँगै सुरु भइसकेको थियो। मृत्युले त त्यो पीडालाई नयाँ रूप मात्रै दिएको हो ।

अब त त्यो पीडालाई एकल जीवनको जिम्मेवारीले थिचेको छ।
पाँच धुर गाउँ ब्लकको जमिनमाथि बनेको माटोको झुप्रोमा पासवान परिवारले टाउको लुकाइरहेको छ। नगरपालिकाले जस्ता दिने भनेको छ, तर त्यो छानो हाल्न सक्ने आर्थिक स्थिति छैन। ‘दैनिक ज्यालामा गुजारा चलाउँदा छाना बनाउने खर्च कहाँबाट ल्याउनु !’ सीताले भनिन्। विगतमा उनले श्रीमानको पीडासँग सङ्घर्ष गरिन्।

अहिले श्रीमानको अनुपस्थितिमा सङ्घर्षको दायरा थप फराकिलो भएको छ। यो सम्झँदा सीताका आँखामा आँसु रोकिँदैनन् ।‘जब छोराहरूलाई भोकै सुत्न बाध्य हुन्छन्, तब भोकभन्दा ठुलो पीडा हुन्छ । स्कुल शुल्क तिर्न नसक्दा, किताब किन्न नसक्दा भविष्यको बाटो छेकिएको महसुस हुन्छ’, उनी भन्छिन्।

छिमेकी राजकुमार सदा पासवान परिवारको पीडाले भावुक बन्छन्। उनी भन्छन्, ‘बद्री त गइहाले, तर त्योभन्दा ठुलो पीडा यो परिवारको हालत देख्दा हुन्छ, मन भक्कानिन्छ । खाने अन्न छैन, बस्ने घर छैन । गरिबीले पलपलमा दुःख दिइरहेको छ।’सँगै मर्ने बाँच्ने कसम खाएका जीवन साथी गए। बाँचेकाहरू पनि अभावसँग लड्दैछन् ।

त्यसैमा चार वर्षदेखि बेपत्ता एउटी छोरी सम्झँदा झन् पीडा हुन्छ सीतालाई । ‘मानसिक अवस्था ठिक थिएन, केही वर्षअगाडि सडकमा देखेको भनेर कसैले भनेका थिए, तर खोज्न सकिनँ, अब पश्चात्तापबाहेक केही छैन’, उनले भनिन्।
बद्रीको मृत्युपछि लहान नगरपालिकाले राहत स्वरूप केही खाद्य सामग्री दिएको थियो । यसले केही दिन चुल्हो बले पनि अभाव हट्ने कुरो भएन। नगरप्रमुख महेशप्रसाद चौधरी भन्छन्, ‘यो राहत तत्कालका लागि हो, तर दीर्घकालीन समाधानका लागि पनि पहल गर्नेछौँ।’ नगर क्षेत्रभित्रका विपन्न परिवारमा कसैको मृत्यु भएमा नगरपालिका राहत लिएर पुग्ने गरेको उहाँको भनाइ छ।

‘मेरो कार्यकालमा दुई सयभन्दा बढी मुसहर समुदाय र सयौँ दलित, गरिब परिवारलाई राहत वितरण भइसकेको छ । यो पासवान परिवारलाई पनि थप सहयोग गर्छौँ’, नगरप्रमुख चौधरीको भनाइ छ।

वडा नं १४ का अध्यक्ष धानिकलाल यादवले नगरपालिकासँग समन्वय गरेर पासवान परिवारका लागि घर बनाउन पहल गर्ने बताउँछन्। उनी भन्छन्, ‘एक त गरिबी, त्यसैमा श्रीमान्को मृत्यु, अनि छोरी हराएको पीडा । यी सबै सीता दिदीका लागि असह्य बनेका छन् ।

यस्ता समस्यामा परेकालाई तत्काल राहत दिनु र दीर्घकालीन उपायको खोजी गर्नु हाम्रो कर्तव्य हो।’ वडाध्यक्ष यादवका अनुसार घर निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाउने विषयमा पालिका स्तरमा छलफल चलिरहेको छ।

सीता भने ‘घर’ मात्रै नभई त्यसभित्रको भविष्य झन् महत्त्वपूर्ण रहेको बताछन्। ‘त्यो भविष्य भनेको छोराहरूको शिक्षा हो। यदि समयमै साथ, सहारा र सहयोग पाइयो भने मेरा सन्तानले बुबाको सपना पूरा गर्न सक्छन्, उनी भन्छिन्।

सीता पासवानको आँखामा आँसु मात्रै होइन, आशा पनि देखिन्छ। एक दिन त केही राम्रो हुनेछ, केही उज्यालो हुनेछ भनेर। सबैबाट सहयोग भए मात्रै यो आशा पूरा हुन सम्भव रहेको उनको बुझाइ छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved