धरान/ विजयादशीको नौरथा शुरु हुनासाथ धरानका मठमन्दिरमा देखिने चहलपहल विगत केही वर्षयता हराउँदै गएको छ ।
विगतमा युवा–युवतीदेखि बालबालिकासम्म विहानै मठमन्दिर पुग्ने गरेका थिए भने अहिले यो प्रचलन लगभग हराएको देखिन्छ ।
धरान १४ विजयपुरका मठमन्दिरहरु नौरथा सुरु भएलगत्तै अत्याधिक चलायमान हुने गर्थे । विहान ३ बजेदेखि नै दर्शनार्थीहरुको भीड लाग्ने गर्दथ्यो ।
विशेष गरी दन्तकाली शक्तिपीठमा नौरथाको समयमा निकै भीड हुने गथ्र्यो । तर यस वर्ष नौरथामा मठमन्दिर पुगेका युवायुवती तथा बालबालिकाको उपस्थिति नगन्य मात्र देखिएको छ ।
समाजसेवी धर्मप्रेमीका अनुसार २०७२ सालको भूकम्प, त्यसपछिको कोभिड–१९ महामारी र प्रविधिको तीव्र विकासका कारण नौरथामा मठमन्दिर जाने प्रचलन घट्दै गएको हो ।
‘हातहातमा मोबाइल र ठाउँ–ठाउँमा बनेका दुर्गा माताका पण्डालले पनि युवायुवतीलाई मन्दिर जान आकर्षित गर्न सकेको छैन,’ धर्मप्रेमीले बताए ।
‘पहिला जस्तो चहलपहल र उत्साह अहिले छैन,’ मन्दिरमा दर्शन गर्न आएका राजेन्द्र शर्माले बताए । नैनकला न्यौपानेले पनि विगतमा देखिने उत्साह अहिले हराएकोमा चिन्ता व्यक्त गरिन् ।
दन्तकाली मन्दिरका पूजारी कमल भट्टराईका अनुसार नौरथाको चार दिन बितिसक्दा पनि मन्दिरमा विगतको जस्तो भीडभाड छैन । ‘नौरथा आउने प्रचलन विस्तारै हराउँदै गएको छ,’ उनले भने ।
विगतमा नौरथाको नौ दिन विजयपुरका सडकमा भीडका कारण हिँड्न समेत कठिन हुने अवस्था रहन्थ्यो । अहिले भने यो दृश्य एकादेशको कथा बनेको छ ।
दैनिक पाँच हजारभन्दा बढी मानिस मन्दिर दर्शन गर्न आउने परम्परा हराउँदै जाँदा दशैंको रौनक नै हराएको अनुभूति स्थानीयलाई भएको छ ।