धरान/संविधान दिवसको अवसरमा सर्वपक्षीय समन्वय समितिको आयोजनामा धरानमा आज भव्य ¥याली तथा कोणसभा सम्पन्न भयो।
धरान–२ छाताचोकबाट सुरु भएको ¥याली ‘संविधानको रक्षा गरौँ’ नारासहित भानुचोकमा पुगेर कोणसभामा परिणत भएको हो।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, उद्योगी व्यवसायी, महिला प्रतिनिधि, विद्यार्थी, नागरिक समाजका अगुवासहित ठूलो जनसमुदायको उपस्थिति रहेको थियो।
सहभागीहरूले संविधानको संरक्षण र अराजक गतिविधिको विरोधमा ऐक्यबद्धता जनाए।
कोणसभामा विद्यार्थी नेता रविन्द्र श्रेष्ठले धरानमा भदौ २४ पछि भएका तोडफोड र आगजनीप्रति चिन्ता व्यक्त गर्दै मेयर हर्कराज राईमाथि नै जिम्मेवारी लिई छानबिनका लागि राजीनामा दिनुपर्ने माग गरे।
महिला सञ्जालकी इन्द्रकला राईले संविधान सुधार आवश्यक भए पनि यसलाई मास्ने प्रयास अस्वीकार्य हुने धारणा राखिन्।
त्यस्तै, सुनसरी उद्योग वाणिज्य संघका सदस्य विष्णु बरालले अराजक घटनाका कारण दशैँको पूर्वसन्ध्यामा धरानको व्यापारिक वातावरण ध्वस्त भएको बताए।
कार्यक्रमको अन्त्यमा जेनजी आन्दोलनमा सहादत प्राप्त गर्नेप्रति श्रद्धाञ्जली अर्पण गर्दै मौन धारण गरिएको थियो भने घाइतेहरूको स्वास्थ्यलाभको कामना पनि गरियो।