खोटाङ/ खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ की २७ वर्षीया रेस्मिका सिवा परियारको सामूहिक बलात्कारपछि हत्या गरिएको पुष्टि भएको छ ।
सहकारीको काम सकेर सोमबार साँझ घर फर्कंदै गरेकी रेस्मिकामाथि ५–६ जनाको समूहले आक्रमण गरी सामूहिक बलात्कारपछि हत्या गरेको खुलेको हो । खोटाङ प्रहरी प्रमुख डीएसपी प्रकाश बुढाथोकीका अनुसार घटनामा संलग्न भएको आरोपमा रेस्मिकाका छिमेकी २९ वर्षीय दीपक सार्कीलाई पक्राउ गरिएको छ ।
सार्की मुख्य अभियुक्त रहेको प्रहरीको प्रारम्भिक बुझाइ छ ।प्रारम्भिक अनुसन्धानका क्रममा उनले घटनामा अन्य व्यक्तिहरूको समेत संलग्नता रहेको भनेर प्रहरीलाई नाम टिपाएका छन् । बाँकी फरार अभियुक्तलाई नियन्त्रणमा लिन प्रहरीको विशेष टोली परिचालन गरिएको जानकारी डीएसपी बुढाथोकीले दिए ।
रेस्मिका सहकारीमा काम गर्थिन् । दिनभर सहकारीमा काम गरेर साँझ घर फर्किंदै गर्दा बाटोमै नियन्त्रणमा लिएर सामूहिक बलात्कार गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।
मृतक रेस्मिकाको शवको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टम भएको छ ।पोस्टमार्टमपछि परिवारका सदस्यले शव लगेर अन्त्येष्टि गरिसकेका छन् ।
शवको बुधबार दाहसंस्कार गरिएको हो । घटनामा संलग्न सबैलाई जतिसक्दो चाँडो पक्राउ गरेर कानुनी दायरामा ल्याइने प्रहरीले जनाएको छ ।
यस घटनाले गाउँभर त्रास फैलिएको छ । स्थानीय र छिमेकी विक्षिप्त छन् । स्थानीयले दोषीलाई कडाभन्दा कडा सजायको माग गरेका छन् ।