कोशीपत्र संवाददाता
धरान । जेन्जी आन्दोलनको नाममा भदौ २४ गते धरानमा भएका सार्वजनिक तथा निजी सम्पत्तिमाथि गरिएको तोडफोड र आगजनीविरुद्ध दैनिक जसो उजुरी गर्ने क्रम बढ्दै गएको छ ।
गत सोमबार नेकपा एमाले धरानले कार्यालय तोडफोड गर्नेहरुका विरुद्ध किटानी जाहेरी दिएको थियो भने मंगलबार पनि धरानका होटल व्यवसायी तथा पुर्व मेयर मनोज कुमार मेन्याङ्बोले पनि तोडफोडमा संलग्न देखिएका विरुद्ध किटानी जाहेरी दिएका छन् ।
धरानमा गठन भएको सर्वपक्षीय नागरिक बचाउ अभिायन, राजनैतिक दलका नेता, पुर्व एवं वर्तमान जनप्रतिनिधिहरुसहितको उपस्थितिमा मेन्याङ्बोले प्रहरीमा जाहेरी दिएका हुन् । होटलमा आक्रमण गर्न आएकाहरु मध्ये विभिन्न भिडियो फुजेट, फोटो र म्योजसहरुबाट पहिचान खुलेकाहरुको नाममा किटानी जाहेरी दिएको पुर्वमेयर मेन्याङ्बोले जानकारी दिए ।
जाहेरीमा एक दर्जनको नाम रहेको पनि उनले बताए । मेन्याङ्बोका अनुसार लुटपाट गरेर पैसा लैजाने मध्ये २ जनाले सोमबार आत्मसमर्पण गर्न आएका थिए। उनीहरुलाई प्रहरीको जिम्मा लगाएको पनि मेन्याङ्बोले बताए ।पूर्व मेयर मेन्याङ्बोले आफूले सञ्चालन गर्दै आएको होटल कञ्चनजंघामा तोडफोड, आगजनी र लुटपाट जस्तो अराजक गतिविधि भएको उल्लेख गर्दै ५३ लाख २३ हजार रुपैयाँभन्दा बढीको क्षति भएको दाबी गरेका छन् । उनले दोषी पहिचान गरी हदैसम्मको कारबाही गर्न माग गरेका छन् ।
उनले भने ‘होटलका भौतिक संरचना मात्र नभई भित्र रहेका सम्पूर्ण सामग्रीसमेत तोडफोड गरिएको छ ।यो राजनीतिक आन्दोलनको नाममा व्यक्तिगत पूर्वाग्रहका आधारमा योजनाबद्ध हमला हो ।’ मेन्याङबोको होटल कञ्चनजङ्गामा तोडफोड, आगजनी गरी करिब ६ लाख रुपियाँ नगद लुटिएको दाबी गर्दै १२ जना विरुद्ध इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएको उनले बताए ।
उनले भने, “मसँग स्पष्ट तस्बिर र भिडियो प्रमाणको रुपमा छ । ती सबै प्रमाणहरु सहित उजुरी दिएको छु, दोषीलाई कानुनको कठघरामा उभ्याउनुपर्छ ।”उनले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई प्रति पनि इंकित गर्दै उनकै समर्थकहरु रहेको दाबी गरेका छन् ।
मेयर राईले नै प्रयोग गर्ने माइक लिएर आन्दोलनकारीहरु पुगेको उनको भनाई छ । उनकै कट्टर समर्थक मानिएका मिलन बान्तवा राईको प्रत्यक्ष संलग्न देखिएकाले मेयरको हात रहेको उनी बताउँछन् । आफ्ना विरुद्ध लाग्नेहरु कसैलाई पनि नछोड्नु भन्दै सामाजिक संजालमा लेखेर मेयर राईले छानीछानी आफ्ना विरोधीहरु माथि आक्रमण गर्न लगाएका उनको दाबी छ ।
तोडफउनले भने, ‘सबुत प्रमाण सबै प्रहरीलाई बुझाएको छु, अनुसन्धानको क्रममा स्पष्ट हुँदै जानेछ ।’उजुरी दर्ता गराउने क्रममा धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तिलक राई, निवर्तमान उपप्रमुख मञ्जु भण्डारी, उपप्रमुख मनोज भण्डारी लगायत स्थानीय जनप्रतिनिधि तथा राजनीतिक दलका नेताहरूको उपस्थिति रहेको थियो ।
निवर्तमान उपमेयर मञ्जु भण्डारीले पनि आन्दोलनको नाममा गरिएको तोडफोड व्यक्तिगत रिसइवीका कारण भएको बताइन् ।उनले भनिन, ‘अडियो–भिडियो प्रमाणमा समेत देखिएको छ, कसले कस्को घर फोड्न जाने भनेर पहिल्यै योजना बनाइएको थियो । मेरो घरमा ५० देखि ६० लाख रुपैयाँभन्दा बढीको क्षति पुगेको छ ।’
जाहेरी पश्चात इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी प्रकाश जवेगुले घटनाको गम्भीरता बुझेको र दोषीमाथि आवश्यक अनुसन्धान अगाडि बढाइसकेको बताए । उनल भने, ‘उजुरीका आधारमा हामी घटनाको विस्तृत छानबिन गर्दैछौं । दोषी को हुन् भन्ने कुरा प्रमाणसहित पत्ता लगाएर कारबाही अगाडि बढाउँछौ ।’
भदौ २४ गते जेनजी आन्दोलनको क्रममा भाटभटेनी, नेकपा एमाले, नेपाली कांग्रेस, माओवादीका कार्यालयहरु सहित पूर्व मेयर मेन्याङ्बो, पुर्व संघीय सांसद जय कुमार राई, पुर्व उपमेयर मञ्जु भण्डारी, काँग्रेस नेता उमेश थापा, सुजेन्द्र तामाङ, कार्यपालिका सदस्य सिर्जना नेपाल लगायतका घरमा तोडफोड तथा आगजनी गरिएको थियो ।
निवर्तमान मेयर तिलक राई र वडा नं. १७ का वडाध्यक्ष सूर्यकुमार भट्टराई (मनोज) ले भने तत्कालको प्रतिकारबाट क्षति हुन दिएनन् । पीडितहरूले क्रमिक रूपमा उजुरी दर्ता गर्दै अराजक तत्वमाथि कडा कारबाही नहुन्जेलसम्म कारबाहीका लागि दबाब दिइरहने बताएका छन् । निवर्तमान नगरप्रमुख तिलक राईलगायत धरानका सबै राजनीतिक दलले दोषीहरुलाई तत्काल पक्राउ गर्न माग गर्दै सरकार र सुरक्षा निकायलाई कठोर कदम चाल्न साथै निष्पक्ष छानबिन र कारबाहीको माग गर्नुभएको छ ।
यता होटल व्यवसायी समिति धरानका सचिव रविन अधिकारीले प्रेस विज्ञप्ती जारी गर्दै उक्त अपराधिक कार्यको घोर भत्र्सना गर्दै संलग्नहरुको पहिचान खुलेको हुनाले पक्राउ गरि कारबाही गर्न माग गरेका छन् । उक्त घटना जेन्जी समुहको आवरणमा अराजक समुहले घटाएको पनि समितिले जनाएको छ । होटल सञ्चालक मेन्याङ्बो समितिका अध्यक्ष समेत हुन् ।
पर्यटन क्षेत्र देशको आर्थिक मेरुदण्ड र स्थानीय रोजगारीको महत्वपुर्ण आधार भएको तर यस्ता विध्वंसात्मक गतिविधिले व्यवसायी र लगानीकर्ताको मनोबल गिराउने, सम्पुर्ण आर्थिक सामाजिक विकासमा समेत गम्भीर असर पुर्याउने विज्ञप्तीमा उल्लेख छ ।