अघिल्लो मङ्गलबार (भदौ २४) ‘जेनजी’ आन्दोलनको आवरणमा धरान नगर क्षेत्रमा अकल्पनीय धनजनको क्षति भएको छ । जेनजी आन्दोलनको आवरणमा यहाँ सार्वजनिक र निजी सम्पत्तिमा आगजनी, ढुङ्गामुढा र तोडफोड हुँदा धनमालको मात्र होइन, कम्तीमा चारजनाको ज्यान पनि गएको छ ।
यो सामान्य विषय होइन । यस्ता घटनामा आन्दोलनकारी युवा नभई आपराधिक मानसिकताका व्यक्तिहरू संलग्न भएको देखिन्छ । त्यसैले यो जघन्य अपराध हो । व्यक्तिको ज्यान नै जाने गरी भएका घटनाहरू कुनै पनि अर्थमा सामान्य हुन सक्दैनन् ।
देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र तिनका छोराछोरीहरूको विलासी जीवनशैलीमाथि प्रश्न गर्दै ‘जेनजी’ भनिने युवा पुस्ताले केही समययता सामाजिक सञ्जालमा विरोधको अभियान सञ्चालन गरेका थिए ।
त्यसै क्रममा सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि २३ गते देशव्यापी रूपमा प्रदर्शन गरे । प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर त्यसै दिन १९ जना युवाको ज्यान गएपछि २४ गते स्वाभाविक रूपमा नागरिकहरूमा आक्रोश थियो ।
त्यो आक्रोशको झल्को तिनका नारा र व्यवहारमा देखिन्थ्यो । यो आक्रोशलाई त्यति अस्वाभाविक पनि मान्न सकिँदैन, तर देशका अन्य भागमा र धरानमै पनि सार्वजनिक सम्पत्तिमा आगजनी, तोडफोड र ढुङ्गामुढामा आन्दोलनकारी युवाको नभई घुसपैठियाहरूको संलग्नता देखिन्छ । धरानमै पनि भानुचोकमा निर्धारित प्रदर्शन सम्पन्न गरेर ‘जेनजी’ का य्ुवा घर फर्किसकेपछि सक्रिय भएको समूहले केही राजनीतिक दलका कार्यालयमा टुङ्गामुढा गरे भने केही पूर्वजनप्रतिनिधि र नेताहरूका घरमा तोडफोड र आगजनी गरे ।
भाटभटेनीमा पनि लुटपाट र आगजनी गरे । आगजनीमा परेर चारजनाको मृत्यु पनि भएको छ ।
भदौ २३ को प्रदर्शनमा काठमाडौँमा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा थुप्रै युवाले ज्यान गुमाए भने विभिन्न घुसपैठियाका कारण सार्वजनिक र निजी सम्पत्तिमा ठुलो क्षति भएको छ । यी दुवै घटनाको निष्पक्ष छानबिन गरी दोषीहरूलाई अविलम्ब कानुनी दायरामा ल्याउनु आवश्यक छ ।
धरानमा भएका आगजनी, लुटपाट र ढुङ्गामुढाका घटनामा विभिन्न व्यक्तिको संलग्नता पुष्टि हुने भिडियो फुटेज र तस्बिरहरू उपलब्ध छन् । तिनै प्रमाणका आधारमा दोषीहरूलाई कानुनको कठघरामा उभ्याउनैपर्छ ।
यसका लागि सम्पूर्ण नागरिक समाज एकजुट हुनु आवश्यक छ । अहिले प्रहरीको पनि मनोबल गिरेको छ । प्रहरीको मनोबल बढाउँदै अपराधीहरूलाई पक्राउ गर्न पनि समाजका विभिन्न क्षेत्रका अगुवाहरू सङ्गठित भई सक्रिय हुनुपर्छ । यसो भए मात्र समाजमा शान्ति सुरक्षा कायम हुनसक्छ ।
होइन भने अपराधीहरू निर्बाध रूपमा समाजमा डुल्नेछन् भने नागरिकहरूले त्रासमै बस्नुपर्ने अवस्था कायमै रहनेछ । यस्तो अवस्था अन्त्य गर्न नागरिक समाज तत्काल जुट्नैपर्छ । प्रहरी–प्रशासनलाई प्रमाण उपलब्ध गराएर सहयोग गर्नुपर्छ भने अपराधीमाथि आवश्यक कारबाहीका लागि नैतिक सहयोग पनि गर्नुपर्छ ।
समाजको साथविना प्रहरी पनि शान्ति स्थापनामा सफल हुन नसक्ने भएकाले समाजले साथ दिनैपर्छ । अपराधीले कुनै पनि अवस्थामा उन्मुक्ति पाउनु हुँदैन । प्रत्यक्ष संलग्न मात्र होइन, छानबिन गरेर योजनाकारसहित निर्देशन दिनेलाई पनि कारबाही गरिनुपर्छ ।