काठमाडौँ/ नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल शुक्रबारदेखि निष्क्रिय भएका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनपछि नेपाल टेलिकम र एनसेलले फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएपलगायत २५ वटा सामाजिक सञ्जाल सेवा बन्द गरेका हुन् ।
नेपाल टेलिकमले सूचनामार्फत प्राधिकरणको पत्र, सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषद्को निर्णय र सञ्चार मन्त्रालयको मन्त्रिस्तरीय निर्णयअनुसार दर्ता नभएका सामाजिक सञ्जाल हालका लागि बन्द गरिएको स्पष्ट पारेको छ ।
त्यसैगरी, एनसेलले पनि सरकारको निर्देशनअनुसार आफ्ना प्रयोगकर्तालाई सेवा दिन रोकिएको जनाएको छ ।
प्राधिकरणले बिहीबार मात्र दर्ता नगरेका २५वटा सामाजिक सञ्जाललाई बन्द गर्न पत्राचार गरेको थियो ।