धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान दक्षिण एसियाकै उत्कृष्ट अस्पतालको रुपमा लिइन्छ ।
यो अस्पताल उपचारका लागि मात्र हैन चिकित्कसम्बन्धी पठनपाठनसँगै रोगको खोज अनुन्धान गर्ने स्थलको रुपमा लिइन्छ । तर यही अस्पतालको उपचार विधि भने लथालिंग छ, उपचारका लागि चाहिने अत्यावश्यक सामाग्री समेत सहज रुपमा नपाइदा विरामीले सास्ती भोग्नु परेको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शैक्षिक गतिविधिका लागि नेपालका मात्र हैन भारत तथा वंगलादेशका विद्यार्थी आउने गर्छन् । यस्तै उपचारका लागि पनि कोशी प्रदेश तथा अन्य प्रदेशसँगै भारतबाट समेत आउने गर्छन् तर यही अस्पतालको उपचार विधि भने लथांंलिग छ ।
विरामीले भनेको समयमा एउटा ह्विल चियर पाउँदैनन, स्टेचर पाउदैनन् जसले गर्दा विरामीका आफन्तले उपचारका लागि विरामी लिएर गएपनि सहज रुपमा उपचार गराउन पाउँदैनन् ।
धरान ११ का भक्त क्षेत्रीले आफन्तको दुर्घटनापश्चात खुट्टा भाच्चिएपछि आकस्मिक कक्षमा लिएर गए । प्रतिष्ठानको आकस्मिक कक्षमा छिटो र प्रभावकारी उपचार हुन्छ भनेर प्रतिष्ठान पुर्याउँदा बाहिरबाट भित्र लानका लागि प्रयोग गर्ने ह्विल चियर नै भेटाएनन् ।
ह्विल चियर र स्टेचरको खोजीमा उनी भौतिरिदै जाँदा बल्ल आधा घण्टापछि एउटा स्चेटर भेटाएपछि उनले उपचारका लागि आकस्मिक कक्षभित्र विरामीलाई पुर्याए । यत्रो ठूलो अस्पतालमा विरामीका लागि ह्विलचियर र स्टेचर सहज रुपमा नपाउदा विरामीले समयमै उपचार नपाएर ज्यान जानसक्ने अवस्था आउने भएकोले यस्तो विषयमा पनि अस्पताल प्रशासन गम्भीर नभएको भन्दै उनले दुःखेसो पाखे ।
उनीमात्र हैन लालीगुरास नगरपालिका वडा नं. ४ बाट पेटसम्बन्धी विरामी भएर आकस्मिक कक्षमा आएकी शारदा बस्नेतको हालत पनि उस्तै थियो । आकस्मिक कक्षसम्म पु¥याउने ह्विलचियर, स्टेचर नपाउँदा दुःखमात्र पाइनन् साढे ३ बजे भिडियो एक्सरेका लागि बोलाउँदा ह्विल चेयर र स्टेचर नभएपनि विस्तारै हिडाएरै भिडियो एक्सरे गर्नुपर्यो ।
यी र यस्ता घटना धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा हुनु नौलो कुरा होइन यो समस्या बर्षौदेखि भइरहेका छन । यही समस्या देखेर केही दातृ संस्थाले प्रदान गरेको ह्विल चियर र स्टेचर समेत अस्पतलाबाटै हराउँछन् ।
त्यतिमात्रहैन अन्य विभागमा समेत विरामी तथा विरामी कुरुवा बस्ने कुर्सी भत्किएर लथांलिङ्ग छ ।
कुर्सी भत्किएर विरामी तथा विरामीका आफन्त बस्नै नसक्ने खालका छन् । दैनिक हजारौ विरामी उपचारमा आउने यो अस्पतालको अवस्थाको पुरानो रोग भएपनि नयाँ आउने उपकुलपतिले यसलाई सुधारेर लाने प्रतिबद्धता जनाउँछन् प्रतिबद्धता प्रतिबद्धतामै सीमित हुन्छ ।
एकातिर विरामीको चाप, अर्कोतर्फ अत्यावश्यक सामाग्रीको अभावसँगै चापका कारण समयमै उपचार नहुने समस्याले बीपी बर्षौदेखि गुज्रिरहेको छ । अढाई बर्ष कार्यकाल विताइ सकेका प्रतिष्ठानका निर्देशक डा.जगत नारायण आफू अस्तापल निर्देशक हुदाको समयमा तत्कालीन उपकुलपति डा. ज्ञानेन्द्र गिरीसँग बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हात्ती दुब्लाए पनि मुसो नहुने र हातीकै दर्जामा पुर्याउनुपर्छ भन्ने वाक्य बोलेका थिए ।
अहिले नयाँ उपकुपतिका रुपमा आएका प्रा.डा. विक्रमप्रसाद श्रेष्ठलाई पनि त्यही वाक्य प्रयोग गरे तर अवस्था कहिल्यै सुधिएन ।
२०५० सालमा स्थानपना भएको बीपीमा स्थापनाताका राम्रै गति लिएको थियो । त्यसपछिका दिनमा कैयौ उपकुलपति फेरिए तर बीपीका अवस्था उस्तै नै रहयो ।
नव नियुक्त उपकुलपति प्रा.डा विक्रम श्रेष्ठले अहिलेसम्म जे जस्ता काम भए काम सम्झेर कामका लागि मात्र गरेकोले अब धर्म सम्झेर काम गर्नुपर्ने बताए ।
प्रतिष्ठानमा रहेका चार जना पदाधिकारी चार दिशातर्फ फर्कने प्रवृत्तिलाई इंगित गर्दै विगतका पदाधिकारीको बेमेललाई अन्त्य गर्दै म भन्ने शब्दलाई हटाएर हामी भन्ने प्रविधिको विकास गरेर लाने प्रतिबद्धता जनाए ।
प्रतिष्ठानभित्र हुने राजनीतिक चलखेल, नातावाद, कृपावादसँगै प्रतिष्ठानको हितमा काम गर्ने कर्मचारी नभएकै कारण विगतदेखि नै प्रतिष्ठानभित्र भ्रष्टाचार मौलाएको, उपचार पद्धति राम्रो नभएको लगायतका समस्यामा आरोप लाग्दै आएको छ ।
विगतमा उपकुलपति धरान बाहिरका हुने भएपनि भर्खरै नियुक्ति हुनु भएका उपकुलपति प्रा.डा. विक्रम श्रेष्ठ धरानकै स्थानीय बासिन्दा भएकोले उहाँप्रति सबैले अपेक्षा राखेका छन् ।
उहाँले साना साना समस्यादेखि ठूला ठूला समस्यालाई गहिरिएर जाने र समाधान लाग्ने प्रतिबद्धता जनाउनु भएको छ, यो प्रतिवद्धता विगतमा आएका उपकुलपति जस्तो प्रतिवद्धतामै सीमित नहोस् बीपीको समस्या समाधान होस् भन्ने चाहना सबैको छ, यसतर्फ उपकुलपतिसँगै अन्य पदाधिकारीको ध्यान जान जरुरी छ ।