धरान/ कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा चिनिने तेह्रथुमको लालीगुराँस नगरपालिका–२ मा रहेको ऐतिहासिक चोत्लुङ पार्कमा सिरिजंगा पाण्डुलिपि विज्ञानालय स्थापना हुने भएको छ।
लालीगुराँस नगरपालिकाले विज्ञानालय स्थापनाको तयारीलाई अघि बढाइरहेको छ। सोही तयारीअन्तर्गत नगरप्रमुख अर्जुनबाबु मावुहाङले विज्ञहरूसँग राय–सल्लाहका लागि विभिन्न स्थानमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै आएका छन्। यसअघि राजधानी काठमाडौंमा अन्तरक्रिया सम्पन्न भए पनि आइतबार सुनसरीको धरानस्थित रत्न इन होटलमा पुनः अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो।
मेयर मावुहाङले प्रस्तुत गरेको कार्यपत्रमा विज्ञानालयलाई ‘युमा संग्रहालय’ नामाकरण गरिएको उल्लेख थियो। उनले सिरिजंगा पाण्डुलिपिको ऐतिहासिक पृष्ठभूमिबारे चर्चा गर्दै विसं १८८० सालतिर दार्जिलिङबाट सिरिजंगा लिपिको प्रयोग सुरु भएको जानकारी दिएका थिए।
अन्तरक्रियामा कोशी प्रदेश सरकारले दुई वटा भाषालाई सरकारी कामकाजका लागि मान्यता दिन लागेको विषयमा समेत छलफल भयो। संसदमा ‘किरात सिरिजंगा लिपि’ नाम प्रयोग गर्ने प्रस्ताव भए पनि अधिकांश लिम्बु अग्रजहरूले ‘किरात’ आयातित शब्द भएको तर्क गर्दै ‘सिरिजंगा लिपि’ मात्र उपयुक्त हुने धारणा राखेका थिए।
कार्यक्रममा उपस्थित कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले विज्ञानालय स्थापनाको परिकल्पना अत्यन्तै महत्वपूण भएको उल्लेख गर्दै यसले सिरिजंगा लिपिको अध्ययन, लिम्बू संस्कार–संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने विश्वास व्यक्त गरे। उनले जातीय पहिचानसँगै सद्भावलाई पनि समान महत्व दिनुपर्नेमा जोड दिए।
प्रदेशसभा सदस्य विदुर लिङ्थेपले ‘किरात सिरिजंगा लिपि’ नाममाथि विमति भए पनि अहिले भएको उपलब्धीलाई आत्मसात गरी पछि छलफलमै टुंगो लगाउन सकिने बताए।
कार्यक्रममा प्रदेशकी पूर्वमन्त्री खिनु लिम्बू, पूर्व संघीय सांसद मीना सुब्बा, उत्तम लिङ्थेप, डा. कमल तिगेला, ताजुव लिम्बू, जेन्टल किरातीलगायतको उपस्थिति रहेको थियो। वक्ताहरूले चोत्लुङ पार्कमा विज्ञानालय स्थापनाले ऐतिहासिकता उजागर गर्ने र पर्यटन विकासमा टेवा पुग्ने धारणा राखे।
लालीगुराँस नगरपालिकाले आगामी मंसिरदेखि विज्ञानालय सञ्चालनमा ल्याउने तयारी गरेको छ। यसले चोत्लुङ पार्कलाई अझ आकर्षक बनाउँदै कोशी प्रदेशको सांस्कृतिक तथा पर्यटकीय महत्व बढाउने अपेक्षा गरिएको छ।