एमाले लेटाङ अधिवेशनः भण्डारी समूहका उम्मेदवार तेब्बर मतले पराजित, संस्थापन पक्षको ‘क्लिन स्वीप’

  • भदौ ८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/नेकपा (एमाले) लेटाङ नगर कमिटीको अधिवेशनमा खुलेर लाग्दा संस्थापन पक्षको टिमले क्लिन स्वीप गरेको छ ।

पछिल्लो समय गुटगत गतिविधिमा सकृय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी समूहका नेता विनोद ढकाल लागेपनि संस्थापन पक्ष मौन थियो ।

तर, गुटगत गतिविधि निश्कृय पार्न यसपटक एमालेको संस्थापन पक्ष खुलेर लाग्दा भण्डारी समूहले लेटाङ नगर अधिवेशनमा लज्जास्पद पराजय व्यहोरेको हो । 

भण्डारी समूहका ढकाल ती नेता हुन् जो बहालबाला केन्द्रीय सदस्य र कोशी प्रदेश सह–इन्चार्जको जिम्मेवारीमा हुँदाहुँदै तल झरेर प्रदेश अध्यक्षमा प्रतिष्पर्धा गरेका थिए ।

सो कुरा कार्यकर्ताले नरुचाउँदा उनलाई पराजित गरिदिएका थिए । ढकाल मोरङकै नेता उनी घनश्याम खतिवडासँग प्रदेश अध्यक्षमा पराजित भए । तत्कालित अवश्थामा सवैभन्दा विश्वास पात्र रहेका उनी सोही अघिबेनबाट एमाले अध्यक्ष ओलीको विश्वास गुमाएका थिए ।

नेताहरुका अनुसार सर्वसम्मत नेतृत्व चयन गर्न दिएको निर्देशन ढकालले नटेरी चुनावमा होमिएपछि ओली चिढिए । सोही अधिवेशनबाट उनले भण्डारीको नाम भजाउँदै आएको नेताहरुको दावी छ ।

तत्कालिन अवस्थामा ओली समूहमा रहेका ढकाल सवैभन्दा बढी अवसर पाउने नेताका रुपमा चिनिन्छन् । उनीसँगै निकट रहेका नेताहरुकै अनुसार पार्टी भित्र अनेक षड्यन्त्र र जालसाँझ गरी पकड जमाएपनि उनी जनताबाट कहिल्यै अनुमोदित नभएका नेता हुन् ।  

गएको जिल्ला अधिवेशनमा ढकालले निकै तल्ला स्तरमा झरेर कार्यकर्ता माझ रोई कराई गरेपछि पदाधिकारीको सवै पद उनले अघि सारेका व्यक्तिहरुले जिते ।

पदाधिकारीमा प्यानलै जितेपछि हौसिएको भण्डारी समूह तल्लो तहसम्म गुटगत गतिविधिमा सकृय बन्यो । 

नेताहरुका अनुसार सो अधिवेशनमा भण्डारी समूहले पदाधिकारीको सवै पद जितेपनि सिंगो जिल्ला कमिटीमा संस्थापन पक्षको झण्डै दुई तिहाई बहुमत छ ।

तर, भण्डारीको नाम भजाएर गुटगत गतिविधि गर्दै आएका नेता ढकालको टिमले जिल्ला कमिटीमा आफ्नो समूहको बहुमत भएको सुनियोजित रुपमा प्रचार गर्दै आएको छ । 

तर, वास्तवमा ढकाल समूह अल्पमतमा रहेका कारण कमिटी चलाउनै नसक्ने अवस्थामा रहेको बताइएको छ ।

नेताहरुका अनुसार जिल्ला अधिवेशनमा आफुले खडा गरेका पदाधिकारी जितेपछि हौसिएर प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली भन्दा ठुलो नेता भएको दावी गरि आफुले जे चाह्यो त्यहि हुने भन्दै सवै पालिका अधिवेशनमा जबरजस्ती निर्वाचन गराउन बाध्य पारेका थिए ।

यद्यपी उनको दावी जस्तो भएन र सरदर परिणाम आयो । तर, भण्डारी समूह सवै पालिका आफ्नो टिमले जितेको जसरी प्रचार गराएपनि परिणाम भने त्यस्तो थिएन ।

आफुनै सवथोक ठान्ने र आफ्ना अगाडी विधि, पद्धती विधान केही होइन भने जसरी जिल्ला कमिटीका पदाधिकारीहरुलाई परिचालन गर्न थालेपछि कार्यकर्ताले भण्डारी समूहका ढकालको साथ छाड्न थालेका छन् । उनीप्रती सदभाव राख्ने पार्टी संस्थापन पक्षका नेता कार्यकर्ताहरु पनि रुष्ट हुँदा भण्डारी समूह थप कमजोर हुँदै जान थालेको परिणाम देखिन थालेको बताइएको छ ।

भर्खरै सम्पन्न लेटाङ नगर कमिटीको अधिवेशनमा आफ्नो टिम जिताउन स्थानीय सत्ता र सारा शक्ति लगाएका भण्डारी समूहका ढकालको घमण्ड र अहमता कार्यकर्ताहरुले तोडिदिएको एक नेताले बताए ।  

लेटाङ नगरपालिकाका नगर प्रमुख भुपेन्द्र लावती, उपप्रमुख कृष्ण कुमारी पोखरेल निरौला, एमालेबाट निर्वाचित अधिकांश वडाध्यक्षसहितको टिमको पूर्ण साथ र सहयोग पाउँदा पनि भण्डारी समूहले लज्जास्पद पराजय व्यहोरेको एक स्थानीय नेताले बताए ।

‘ढकालका बफादार भनेर चिनिने जिल्ला सचिव सोमराज थापालाई कमाण्डर बनाएर खटाएका थिए ।

विराटनगरदेखिकै उनको समूहका सवै मान्छे ल्याएर जबरजस्ती चुनाव गराए ।’ ति नेताले भने,‘विराटनगरमा पैसा तिरिदिएर सदस्य बनाउदै पार्टी कब्जा गरे जस्तो लेटाङ होइन, आम कार्यकर्ताले गतिलो जवाफ दिएका छन् । यो जिल्लामा उनको मनपरी तन्त्र अब चल्दैन, लेटाङको परिणामले देखायो ।’ 

उसो त निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न लेटाङ नगर कमिटीको अधिवेशनमा भण्डारी समूहले अध्यक्ष मण्डलदेखि लिएर निर्वाचन कमिटी सवैमा निकटका मान्छे खटाएपनि केही सदस्य बाहेक उनको टिमका सवैले पराजय व्यहोरेका छन् ।

संस्थापनबाट अध्यक्षमा खगेन्द्र राज भण्डारी, उपाध्यक्षमा बिष्णु मगर, सचिवमा उर्गेन तामाङ, उप–सचिवमा नरेन्द्र पराजुली र चिजमाया लिम्बु निर्वाचित भएका छन् ।

उनीहरु भण्डारी समूह भन्दा झण्डै तेब्बर मतले निर्वाचित भएका छन् । त्यस्तै, दुई तिहाई बढी सदस्यहरु समेत संस्थापन पक्षबाटै निर्वाचित भएको एक नेताले बताए । 

ती नेताका अनुसार पार्टी बलियो बनाउने भन्दा पनि गुट बनाउन लागेको र पार्टी कमजोर बनाउने खेलमा लागेको चाल पाएपछि कार्यकर्ताहरुले भण्डारी समूहको साथ छाड्न थालेका छन् । 

एमाले मोरङमा पदाधिकारीहरु मात्र सवै ढकाल समुहका छन् । स्रोतका अनुसार अध्यक्ष अजम्बर राई, उपाध्यक्ष सागर थापा, सचिव सोमराज थापा, उपसचिव सन्तोष वान्तवा र उषा झा ठाकुर भण्डारी समूहमा रहेका ढकालको निर्देशन बेगर एक इन्च दायाँवायाँ गर्दैनन् ।

उनीहरु ढकालको छायाँका रुपमा नामको मात्र पदाधिकारी रहेको र पार्टी उनैको निर्देशन तथा निर्णय अनुसार चल्ने गरेको बताईन्छ ।

पदाधिकारीको टिम जिताएकाले सवै निर्णयमा ढकाल हावी हुने गरेको सोही समूहका नेताहरु बताउँछन् । 

उसो त जिल्ला कमिटीमा भण्डारी समुहका ढकाल पक्ष अल्पमतमा रहेका कारण अधिवेशन सम्पन्न भएको लामो समयसम्म पूर्ण कमिटीको बैठक बस्ने सकेन । निकै महिनापछि बसेको बैठकमा समेत पदाधिकारीहरुले विधि पद्धती विपरित प्रस्ताव ल्याउँदा ठुलो विवाद भएको थियो ।

कोशी प्रदेश इन्चार्ज शेरधन राईले सम्झाई बुझाई गरेपछि जसो तसो पहिलो बैठक सम्पन्न भयो । तर, उक्त बैठकले गरेको निर्णय विपरित सर्कुलर जारी गर्दा झन विवाद चर्कीयोे । त्यसपछि लामो समयसम्म बैठक बसेन ।

निर्णयहरु पदाधिकारी र सचिवालयमा सिमित बन्न पुग्यो । विद्या भण्डारी सकृय राजनीतिमा फर्किएको घोषणा गरेयता पार्टी काम भन्दा गुटगत गतिविधिमा ढकाल र जिल्लाको पदाधिकारी टिम सकृय बनेको बताइने गरेको छ । 

भण्डारी समूहको पक्षमा रहेको जिल्लाको पदाधिकारी टिमले यतिबेला एमालेको विधान विपरित विधि र पद्धतिलाई कुल्चिँदै निर्मम भएर लागेको बताइएको छ ।

यसको झल्को गत साउन १५ गते बसेको बैठक पछि स्पष्ट देखिएको जिल्लाका एक नेताले बताए । 

नेताहरुका अनुसार जिल्ला अधिवेशनमा प्यानलै बनाएर प्रतिष्पर्धा गरेपनि पार्टी एक ढिक्का बनाउन पदाधिकारीहरुले भूमिका खेल्नुपर्ने थियो । तर, ढकालको निर्देशन विपरित एक इन्च दायाँवायाँ नगर्ने पदाधिकारीहरु जुनसुकै बेला दुर्घटनामा पर्नसक्ने राजनीतिक वृत्तमा विश्लेषण भइरहेको छ । 

मोरङ जिल्ला कमिटीका नेताहरुका अनुसार गत साउन १५ गतेको बैठक निकै महत्वपूर्ण थियो ।

जिम्मेवारी बाँडफाँड सम्वन्धी निर्णय गरेको उक्त बैठक सहज ढंगले सम्पन्न भएको थियो । सामान्य वाहेक महत्वपूर्ण पद र विभागहरुको जिम्मेवारी भण्डारी समूहमा रहेका पदाधिकारीले ढकालकै इसारामा चल्ने व्यक्तिहरुलाई दिएपनि उक्त बैठकमा विरोधको स्वर सानो थियो ।

तर, जब जिल्ला कमिटीको पूर्ण बैठकले सर्वसम्मत गरेको निर्णय विपरित सर्कुलर जारी भयो, त्यसयता विवादले उग्र रुप लिएको छ । सर्कुलरमा एमाले पाटीर्को मेरुदण्ड मानीने युवा विद्यार्थी विभागहरु खाली राखिएको छ ।

एमालेको विधान, विधि र मापदण्डमा नपर्ने भएपनि बैठकले गरेको निर्णय विपरित ढकालको ठाडो निर्देशनमा पदाधिकारीहरुले सर्कुलर जारी गर्दा बैठकको निर्णयमा सहभागीहरु आक्रोशित मात्र भएका छैनन्, ठुलो प्रश्न समेत उठेको छ । ‘विनोद दाईको घरमा बसेर सर्कुलर बनाएको हो ।’

भण्डारी समूहकै एक नेताले भने,‘जेसुकै होस् मैले जे जे भन्छु त्यहि हाल भनेर उहाँले भन्नु भएको हो । त्यसै अनुसार पदाधिकारीले सर्कुलर जारी भयो ।’ 

सर्कुलर अनुसार केहीले तीन÷तीन वटा जिम्मेवारी एउटै व्यक्तिले पाएका छन् भने संस्थापन पक्षमै भएका कारण धेरैलाई जिम्मेवार विहिन बनाइएको बताइएको छ ।

नेताहरुका अनुसार विगतमा पनि पार्टी जिल्लामै महत्वपूर्ण जिम्मेवारी पाएका जिल्ला उपसचिव सन्तोष वान्तवा नेतृत्व क्षमता अब्बल छैनन् ।

प्रचार विभागको प्रमुख हुँदा उनले केही काम नगरेको आरोप उतिबेलै लागेको थियो । तर, अहिले उनी एकै व्यक्तिले अनेकौँ पद आफै राखेका छन् । उनले लिएको जिम्मेवारी पनि रोचकनै छ ।

पार्टीका २३ वटै जनसंगठन हेर्ने जनसंगठन समन्वय संयन्त्रको जिम्मेवारी लिएका वान्तवा एउटा जनसंगठन प्रेस चौतारीको इन्चार्ज आफै बसेका छन् । त्यति मात्र होइन, प्रचार विभाग प्रमुख पनि उन्ले नछाडी आफै राखेको सर्कुलरमा उल्लेख छ ।

नेताहरुका अनुसार पद ओगट्ने तर काम नगर्ने स्वभावका उनी आफूलाई भण्डारी गुटको ‘हार्डलाईनर’ भनेर चिनाउने गरेको उनी निकटहरु बताउँछन् । उनी अझै आफूलाई पद अपुग भएको निकट व्यक्तिहरुसँग खुलस्त भन्ने गरेको एक जनाले बताए ।

‘उहाँ अझै आफुले चाहेजस्तो पद भएन भन्नुहुन्छ । यति सारो पदको लोभि मैले पहिलो पटक देखेँ ।’ उनले भने,‘यस्ता मान्छेले पार्टी चलाउन सक्दैनन् भन्नेमा म छर्लङ्ग भएँ ।’ 

वान्तवाको सन्दर्भमा मात्र होइन, पदाधिकारी टिमले मनपरी ढंगले आफुखुशी गर्न थालेकाले माथिल्लो निकायले उनीहरुलाई लगाम लगाउनुपर्ने एक जिल्ला सदस्यले बताए । 

उसो त विभिन्न सामाजिक सञ्जाल र सञ्चारमाध्यममा सार्बजनिक भएको बैठकको रेकर्ड र जारी भएको सर्कुलरमा आकाश जमिनको फरक छ ।

प्राप्त प्रमाणका आधारमा पनि पदाधिकारीहरुले ढकालकै निर्देशनमा मनमौजीरुपमा आफुखुशी जिम्मेवारी हेरफेर गर्दै सर्कुलर जारी गरेको पुष्टि हुन्छ ।  

उसो त निकै राम्रो जिम्मेवारी निर्वाह गरेपनि संस्थापन प्यानलबाटै अधिवेशनमा निर्वाचन लडेका कारण शंकर थापालाई जिल्ला कमिटीको निर्णय विनै कार्यालय सचिवबाट हटाएर भण्डरी समूहका बुद्धि थापालाई राखेको विषय अझ ठुलो विवादित विषय बनेको छ ।

एमाले मोरङका पदाधिकारीहरुको मनमौजी कार्य शैलीका कारण पार्टी कमजोर र निश्कृय बनेको विश्लेषण हुन थालेको छ ।

थोरै भएपनि भण्डारी समूह विस्तार गर्न सकिने आशमा ढकालको इसारामा पदाधिकारीले जथाभावी गर्दै गएपनि लेटाङको परिणामले कार्यकर्ताहरुले साईजमा ल्याउन थालेको देखिएको एमाले नेताहरु बताउँछन् ।

अब जिल्ला कमिटीका विस्तारित भनेर भदौ ९ गतेलाई पदाधिकारीले बैठक डाकेका छन् । सो बैठकमा ठुलो विवाद हुने प्रायः निश्चीत जस्तै रहेको नेताहरुको भनाई छ ।

अब एमाले मोरङका पदाधिकारीहरु कसरी अघि बढ्छन् र कस्तो परिणाम आउँछ, त्यो भने हेर्न बाँकी रहेको जिल्ला सदस्यहरु बताउँछन् ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved