धरान/ सुनसरीमा लागुऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा (मंगलबार)आज बिहान करिब ८ः३० बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुक्त प्रहरी टोलीले कोशी गाउँपालिका–१ लौकहीस्थित पूर्व–पश्चिम राजमार्गमा जाँच गर्ने क्रममा ब्राउन सुगर फेला पारेको हो।
प्रहरीका अनुसार विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको बा ५ ख ३१४९ नम्बरको यात्रुबाहक हायस गाडी रोक्दै जाँच गर्दा लागुऔषध बरामद भएको हो। सोही क्रममा गाडीमा सवार मोरङ, सुन्दरहरैंचा नगरपालिका–११ सलकपुरका ४५ वर्षीय लोक विक्रम शाहको साथबाट ब्राउन सुगर जस्तो देखिने ३७।६२ ग्राम पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए।
पक्राउ परेका शाहलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
यो पनि हेर्नुहोस्
सुनसरीबाट ठूलो परिमाणको ब्राउन सुगरसहित चार जना पक्राउ