काठमाडौं/ हिमालयन चेस एकेडेमीद्वारा आइतबार सम्पन्न ‘हिमालयन क्वीन्स ग्याम्बिट’ प्रतियोगितामा प्रिसियस अधिकारीले शानदार प्रदर्शन गर्दै च्याम्पियनको उपाधि हात पारेकी छन् । उनले सातै खेल जित्दै शतप्रतिशत ७ अंक जोडेर प्रथम स्थान सुरक्षित गरिन् ।
सेन्ट जेभियर्स कलेज, माइतीघरमा सम्पन्न एकदिने प्रतियोगितामा निहाना श्रेष्ठ पनि अपराजित रहिन् तर दोस्रो चरणमा बराबरी खेलेपछि ६.५ अंकमा सीमित भई उपविजेतामा रोकिइन् । महेन्द्र माविकी रेशिका श्रेष्ठ ६ अंकसहित तेस्रो स्थानमा रहिन् । स्वस्तिका चौधरी, धनमन्तरी थापा, मेघना अधिकारी, संस्कृति गजुरेल र सुहानी सिंह शीर्ष आठमा परे ।
यो प्रतियोगिता अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) को ‘सोसल इयर २०२५’ अन्तर्गत एशियाको एकमात्र महिला चेस प्रतियोगिता हो । ७ वर्षदेखि ६७ वर्षसम्मका १४२ महिला खेलाडी सहभागी भएसँगै यो नेपाली चेस इतिहासमै महिला सहभागिताको सबैभन्दा ठूलो रेकर्ड भएको आयोजकले जनाएका छन् । गत वर्षको ‘हिमालयन तीज टोर्नी’मा ३७ खेलाडी मात्र सहभागी भएका थिए ।
विद्यालयतर्फ मनकामना सेकेन्डरीले प्रथम, मार्भलस बोर्डिङले दोस्रो र महेन्द्र माविले तेस्रो स्थान पाए ।
विशेष अवार्डमा शुभानी पण्डित (बेस्ट एचसीए), आकृति नगरकोटी (बेस्ट जेभियरियन), रोशिका श्रेष्ठ (स्पोर्टसम्यानसिप), स्मारिका डुम्रे (राइजिङ प्लेयर) र सूक्ष्मायंका जैशी (इम्प्रुभमेन्ट) भए ।
विजेताहरूलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, काठमाडौं महानगरपालिका–४ का वडाध्यक्ष दिनेश महर्जन, नेपाल बुद्धिचाल महासंघका वरिष्ठ उपाध्यक्ष दिपेन राई, कोसी प्रदेश बुद्धिचाल संघका अध्यक्ष सुरेन्द्रकुमार राई, सेन्ट जेभियर्स कलेजका भाइस–प्रिन्सिपल गेहेन्द्रबहादुर चन्द र फिडे ‘कसिन फर वुमेन्स चेस’ की सदस्य मोनालिशा खम्बूले पुरस्कार वितरण गरे ।
थापाथलीस्थित हिमालयन चेस एकेडेमीद्वारा आयोजित यो नवौं प्रतियोगिता हो । एकेडेमीले यसअघि पनि विभिन्न राष्ट्रिय तथा रेकर्डब्रेकिङ प्रतियोगिता आयोजना गरिसकेको छ । हाल एकेडेमीले काठमाडौं र भक्तपुर शाखाबाट एक सय बढी खेलाडीलाई विभिन्न तहको तालिम दिइरहेको छ ।
यसरी ‘हिमालयन क्वीन्स ग्याम्बिट’ महिला सहभागिता, खेल स्तर र व्यवस्थापनका दृष्टिले नेपाली चेस इतिहासमा एउटा माइलस्टोन बनेको छ ।