-फाइल तस्बिर
धरान/ हिन्दुहरूको पावन पर्व कृष्ण जन्माष्टमीको समापनको अवसरमा आज आइतबार धरान र विराटनगरमा भव्य ‘श्रीकृष्ण रथयात्रा’ आयोजना हुँदैछ।
धरानमा दिउँसो २ बजे गीता भवन परिसरबाट सुरु हुने रथयात्राले यस वर्ष २१ वर्ष पूरा गरेको गीता भवन सञ्चालक समितिका उपाध्यक्ष प्रा. डा. गोपालप्रसाद भण्डारीले जानकारी दिए।
रथयात्रा छाता चौक, लक्ष्मी चौक, पुरानो बजार, भौडी चौक हुँदै भानु चौकमार्गबाट पुनः गीता भवनमा विसर्जन गरिनेछ। यसपटक पनि भक्तजनले डोरी तानेर रथ तान्ने परम्परा कायम भए पनि, भौगोलिक र प्राविधिक कारणले सवारी साधनमार्फत रथयात्रा सम्पन्न गरिने भएको छ।
त्यस्तै, विराटनगरमा दिउँसो ३ बजे सुरु हुने राधाकृष्ण रथयात्रा नेपालको सबैभन्दा वृहत् र ऐतिहासिक रथयात्रा मानिन्छ।
यसपटकको रथयात्राले ५७ वर्ष पूरा गरेको छ। विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले रथयात्रालाई एसियाकै दोस्रो ठूलो पर्वका रूपमा परिचित गराउँदै भव्य, सभ्य र मर्यादित रूपमा सम्पन्न गर्न सबैलाई आह्वान गरेका छन्।
रथयात्रालाई भव्य बनाउन महानगरपालिकाले करिब ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको र नयाँ तथा आकर्षक रथ निर्माण गरिएको मेयर कोइरालाले बताए।
उनले भक्तजनलाई मर्यादित र सुरक्षित रहन, भीडमा महँगा गरगहना नलगाउन, व्यक्तिगत सामग्रीको सुरक्षा गर्न तथा ज्येष्ठ नागरिक र बालबालिकाको विशेष ख्याल राख्न आग्रह गरेका छन्।
यस वर्षको विराटनगरको ५७औँ रथयात्रा पनि परम्परागत रूपमा विराटनगर–१ स्थित राधाकृष्ण मन्दिरबाट सुरु हुँदैछ।