-सन्देश तिम्सिना
धरान/ धरान उपमहानगरपालिका भित्रका विभिन्न वडाका सडकहरू वर्षाको समयमा खाल्डा–खुल्डी भएपछि जनजीवन प्रभावित बनेको छ ।वर्षाको कारण सडकमा नै खोला कुद्न थालेपछि जनजीवन प्रभावित भएको हो ।
सवारी साधान तथा सर्वसाधारणलाई आवात जावतमा समस्या हुन थालेको छ ।
उपमहानगरपालिकाभित्र २० वटा वडा रहेका छन् र अधिकांश वडामा सडक निर्माण कार्य सम्पन्न भइसकेको भए पनि, मुख्य बजार क्षेत्रका सडकहरू अझै मर्मत आवश्यक अवस्थामा छन्।बर्षाको कारणले २, ३, ९, १० ,१२ र १४ नम्बर वडाका सडकहरूमा विशेष समस्या देखा परेको छ । स्थानीयवासीका अनुसार, सडकमा पानी जम्दा खाल्डा बन्ने, यातायातमा असुविधा र पैदल यात्रुहरूलाई कठिनाइ हुने गर्छ। बजार क्षेत्रमा विशेषगरी भारी सवारी साधनको चापले सडक छिट्टै बिग्रिनुका साथै खाल्डा–खुल्डी बढाएको छ।
धरान ३ नम्बर वडाका स्थानीय व्यवसायी रबिन श्रेष्ठले बताएअनुसार, “भारी वर्षाका कारण पसल अगाडि माटो जमेको छ। ग्राहकहरू पसलमा आउँदा त्यही माटो पस्छ र पसलभित्र पनि हिलो जम्छ। यसले मेरो व्यापारमा ठूलो असर पारेको छ। वर्षामा पानी जमी सडक हिलो र घाम लाग्दा धुलोले व्यापार व्यवसाय प्रभावित हुन्छ।”
३ नम्बर वडाका वडा अध्यक्ष बिध्या शाक्यले भने, “१४ नम्बर वडाको ड्रेनबाट हाम्रो वडामा सबै पानी बगिरहेको छ। यसले धेरै समस्या निम्त्याएको छ। हामीले पटक–पटक पहल गरे पनि पानी रोक्न नसक्दा पर्याप्त व्यवस्थापन गर्न सकिएका छैनौं। तर, नगरपालिकासँग समन्वय गरेर सडकमा पुगेको माटो व्यवस्थित गर्ने काम गरिसकेका छौं।”
विशेषगरी ९ नम्बर वडामा पुतली लाइन, आचार्य लाइन र बगैँचा लाइनका बीचका केही स्थानमा खाल्डा–खुल्डी देखिएको छ भने, १० नम्बर वडामा पुतली लाइन विशेष गरी भाटभटेनी क्षेत्र र सैनिक चौकबाट धनकुटे रोड जाने बाटोमा खाल्डा–खुल्डी बढेका छन्।१२ नम्बर वडाको चतरा लाइनको सडक र १४ नम्बर वडामा पिन्डेश्वरी मन्दिर जाने बाटोमा अत्यधिक खाल्डा–खुल्डी भएका कारण यात्रु र स्थानीयवासीलाई असुविधा भइरहेको छ।
धरान १० नम्बर वडाका केही महिनाअघि मर्मत गरिएको भए पनि भारी वर्षाले पुनः समस्या सिर्जना गरेको स्थानीयवासीले बताएका छन्। वडा अध्यक्ष विवेक राईले भने, “हाम्रो वडामा सडक सुधार र फरक तरिकाले निर्माण गर्ने योजना अघि बढिरहेको छ। यसले सडकको दिगो स्थिति सुनिश्चित गर्नेछ। सडक मर्मत र व्यवस्थापन कार्य निरन्तर भइरहेको छ, तर वर्षाको समयमा खाल्डा–खुल्डी देखिनु स्वाभाविक हो।”