सृजनशीलतालाई मंच दिँदै धरानमा 'सिंक इन डान्स स्टुडियो' को क्याम्प समापन
- साउन २१, २०८२
- कोशीपत्र/संवाददाता
धरान/ उदयमान सृजनात्मकतालाई स्वरुप दिन धरानको ‘सिंक इन डान्स स्टुडियो’ले आयोजना गरेको समर क्याम्प २०८२ सम्पन्न भएको छ।
सुनसरीको धरान–धर्मपथमा २०७८ सालमा स्थापना भएको डान्स स्टुडियो ‘सिंक इन डान्स’ले गत असार ३० गतेदेखि सुरु भई श्रावण १६ गतेसम्म सञ्चालन गरेको समर क्याम्पको समापन कार्यक्रम शनिबार सम्पन्न भयो। धरान–१२, चतरा लाइनस्थित होटल गोर्खामा सम्पन्न सो कार्यक्रममा सहभागी ४१ जना बालबालिकाले दीक्षा प्राप्त गरे।
उनीहरू ५ देखि १३ वर्ष उमेर समूहका निजी तथा सामुदायिक विद्यालयका विद्यार्थी थिए।
कार्यक्रममा नृत्य, गायन, र्याम्प वाक र पब्लिक स्पिकिङ्ग लगायत विधामा प्रशिक्षण लिएका बालबालिकाले सिकेका सीपहरू सार्वजनिकरूपमा प्रस्तुत गरेका थिए। प्रत्येक विधामा चार–चार टिम बनाइ बालबालिकालाई प्रशिक्षण दिइएको थियो।
सिंक इन डान्स स्टुडियोका प्रबन्ध निर्देशक पवन तामाङका अनुसार, गर्मी बिदालाई सिर्जनात्मक र प्रविधि–नियन्त्रणमुखी बनाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो। मोबाइलको लतबाट टाढा राख्दै सिर्जनात्मक अनुशासनमा जोड दिन यस प्रकारको तालिम आवश्यक रहेको तामाङले बताए। उनका अनुसार स्टुडियोले हरेक वर्ष यस्ता क्याम्प गर्दै आएको छ, र यो दोस्रो संस्करण हो। कार्यक्रममा डान्स प्रशिक्षक पवन तामाङ, रेसु धमला र इचिङ्सा लिम्बु लगायतको मुख्य भूमिका रहेको थियो।
‘समर क्याम्प २०८२’ समापन समारोहको सभापति अमर आधारभूत विद्यालय, धरान–१३ का सहायक प्रधानाध्यापक मङ्गलसिंह तामाङले गरेका थिए भने प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपमेयर आहिन्द्र बिक्रम बेघा रहेका थिए । सृजनशील अभ्यास, अनुशासन र बालमैत्री परिवेश निर्माणतर्फ अभिमुख भएको उक्त समारोहले बालबालिकामा आत्मविश्वास, सार्वजनिक प्रस्तुतिको क्षमता र सामूहिक सहकार्यको भावना विकास गर्ने आयोजकहरूको विश्वास छ