-शन्देस तिम्सिना
धरान/ धरान उपमहानगरपालिका–९ का कार्यपालिका सदस्य बिकास भाटीले आफ्नो तीन वर्षे कार्यकाल (२०७९–२०८२) जनताको साथ र सामाजिक उत्तरदायित्वको भावना सहित उदाहरणीय रूपमा पूरा गरेका छन्। कुनै विशेष बजेट वा सरकारी अनुदान विनै उनले वडास्तरमा उल्लेखनीय भौतिक तथा सामाजिक विकासका कार्यहरू सम्पन्न गरेका छन्।
भाटीको नेतृत्वमा सञ्चालित प्रमुख कामहरूमा संचार व्यवस्थापन, सडक मर्मत, स्ट्रीट लाइट जडान, खानेपानी च्याम्बर निर्माण, ट्राफिक सचेतना, सरसफाइ अभियान, खेलकुद प्रवर्द्धनदेखि रेलिङ जडानसम्मका गतिविधि रहेका छन्।
गौतमपथदेखि धर्मपथसम्मका खाल्डाखुल्डी टालटुल गरी ‘झिलिमिली महोत्सव’मार्फत सौन्दर्यीकरण अभियान चलाइएको छ। बत्ती तथा पोल मर्मतले स्थानीयको आवतजावत सहज भएको छ भने सडक किनारमा फग्गिङ, गोडमेल र सफाइमा समेत भाटी स्वयं सक्रिय देखिएका छन्।
संचार व्यवस्थापनमा इन्टरनेट, टेलिफोन र विद्युतीय तारहरू व्यवस्थित गरी सौन्दर्यसँगै सुरक्षामा सुधार ल्याइएको हो।
कुखुरा लाइन पूलमा रेलिङ जडान तथा बगैँचा टोलदेखि दक्षिण खहरे करिडोरसम्म रेलिङ जडानले जोखिम न्यूनीकरणमा सहयोग पुगेको छ।
खेलकुदको क्षेत्रमा खेलाडी प्रोत्साहन कार्यक्रम सञ्चालन गरिनुका साथै रंगशालाको ट्रस जडान र भवन निर्माण सम्बन्धी प्रस्ताव पनि आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिने भएको छ।
सप्तरङी पार्क पुनर्जीवन, कलेज रोड, आचार्य लाइन र बगैँचा लाइनमा आधुनिक बत्ती तथा रि-पिच योजनाका लागि प्रक्रिया अघि बढाइएको भाटीले जानकारी दिए।
“मैले पदभन्दा बढी सेवा र जिम्मेवारीलाई प्राथमिकता दिएको छु। काम बोल्छ भन्ने आत्मविश्वासले नै जनताको साथमा यी कामहरू सम्भव भएका हुन्,” भाटीले बताए।
स्थानीयवासीहरू भाटीको नेतृत्वमा वडास्तरीय विकास र पारदर्शितालाई उदाहरणीय मान्दछन्।