धरान–५ मा पुलको काम ६ वर्षदेखि अलपत्र: ठेकेदार सम्पर्कविहीन, मन्त्रीहरू मौन ठेकेदार सम्पर्कविहीन, मन्त्रीसमक्ष बारम्बार गुनासो

  • साउन १३, २०८२
  • कोशीपत्र/संवाददाता
alt -फणिन्द्र तिम्सिना

धरान/  धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको सिरानमा रहेको लेदुवा खोलामा निर्माणाधीन पुल दुई वर्षअघि नै सकिनुपर्ने भए पनि अझै अपूरो अवस्थामा छ।
झण्डै १६ मिटर लम्बाइको उक्त पुल निर्माणका लागि प्रदेश सरकारले रु १,२१,५८,१३२.४४ (एक करोड  एकाइस लाख अठ्ठावन्न हजार एकसय बत्तीस रुपैयाँ चौवालीस पैसा) को सम्झौता गरी २०७७ सालमा ठेक्का दिएको थियो। 
 
पुल २०८० सालभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको थियो। तर हालसम्म निर्माण पूरा नहुनुमा ठेकेदारको लापरबाही मुख्य कारण भएको वडाध्यक्ष मान कुमार लिम्बूले जानकारी दिनुभयो। 
 
ठेकेदार सम्पर्कविहीन, मन्त्रीसमक्ष बारम्बार गुनासो 
 
वडाध्यक्ष लिम्बूका अनुसार “वर्ल्ड ट्रेड कन्स्ट्रक्सन कम्पनी प्रा.लि.” नामक कम्पनीले काम लिएको हो। तर काम समयमा नगरेपछि आफूले प्रतिनिधिसभा सदस्य, प्रदेश मन्त्री, डिभिजन प्रमुख र ठेकेदारसम्मलाई पटक–पटक भेटेर काम अघि बढाउन आग्रह गरे पनि ठोस परिणाम आएन। 
“२०७७ सालमै ठेक्का लागेको पुल २०८० को जेठ मसान्तभित्र सक्ने भनेर ठेकेदारले प्रतिवद्धता गरेकै हो,” वडाध्यक्ष लिम्बूले भन्नुभयो, “तर स्काभेटर ल्याएर माटो त उखेलियो, त्यसपछिको दिनबाट सम्पर्कविहीन भयो ठेकेदार।” 
 
उहाँका अनुसार ठेकेदार पशुपति बराल हालसम्म सम्पर्कमा छैनन्। फोन गर्दा नउठाउने र काममा पनि नगएपछि स्थानीय तह र प्रदेश सरकार समेत लाचार बनेको उहाँको गुनासो छ। 
स्थानीयको श्रमदान र सहकार्य 
पुल समयमै बनोस् भन्ने चाहनाले गाउँलेहरुले समेत उल्लेखनीय सहयोग गरेका छन्।
 
वडाध्यक्ष लिम्बूका अनुसार, “गाउँलेहरुले निर्माण मजदुरका लागि निःशुल्क बासको व्यवस्था गरे। खानेपानीका लागि २०० मिटर पाइप किनेर पानी ताने। तरकारी, मासु किनेर खुवाए। तर ठेकेदारले न त समयमै मजदुर पठायो, न त कामलाई निरन्तरता दिन सक्यो।”
 
स्थानीय सरकारले पनि सक्दो साथ दिएको वडाध्यक्ष लिम्बू बताउनुहुन्छ। उहाँका अनुसार कामदारका लागि बसोबास, खानेपानी, आवश्यक सामग्रीलगायत कुरामा वडा कार्यालय र स्थानीय जनताले सहयोग गरे।
 
तर ठेकेदारको गैरजिम्मेवारीपनले सबै प्रयास व्यर्थ भयो।
उक्त पुल कृषि उत्पादनको ढुवानी र आवागमनको मुख्य मार्ग हो। पुल निर्माण ढिलो हुँदा स्थानीय कृषकले आफ्नो उत्पादन बजारसम्म पुर्‍याउन कठिनाइ भोगिरहेका छन्। किसानहरुले मौसमी तरकारी, फलफूल, दूधजस्ता सामग्री बगाउने खोलाबाट हिँडेर लैजानुपर्ने बाध्यता छ, जसले बजारमा समयमै सामान पुर्‍याउन नसकेर आर्थिक क्षति हुँदै आएको छ। 
 
वडाध्यक्ष लिम्बूका अनुसार ठेकेदारले अब काम नगर्ने हो भने कडा कारबाहीको माग गर्दै पुनः प्रदेश सरकारसँग दबाब दिने तयारी भइरहेको छ। “हामीले हाम्रा तर्फबाट गर्ने सबै गर्‍यौं,” उहाँ भन्नुहुन्छ, “अब ठेकेदारमाथि कारबाही नहुने हो भने यस्ता कामले प्रदेश सरकारप्रति जनविश्वास नै घट्छ।” 
 
यस विषयमा कोशी पत्रको टिमले पनि ठेकेदार पशुपति बराललाई बारम्बार फोन सम्पर्क गर्न प्रयास गरेको थियो, तर उहाँले कुनैपनि कल उठाउनुभएन। सम्पर्क नै हुन नसकेको कारण थप जानकारी लिनसमेत असम्भव भएको छ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved