बराहक्षेत्र/ खेलकुद क्षेत्रलाई व्यवसायिकरण गर्दै युवा पुस्तालाई समर्पित बनाउने उद्देश्यसहित सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ३ मा ‘जय नेपाल खेलकुद मञ्च’ गठन गरिएको छ।
खेलकुद मार्गदर्शन २०८१ को परिच्छेद ३ र ४ अनुसार मञ्च गठनको प्रक्रिया अघि बढाउँदै तदर्थ समिति गठन गरिएको हो।
गठन लगत्तै आयोजित पदस्थापन कार्यक्रममा नेपाली काँग्रेस कोशी प्रदेश सदस्य तथा कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राईले खेलकुद क्षेत्रको व्यावसायिक विकासमार्फत युवालाई आकर्षण गर्नुपर्ने धारणा राख्नुभयो।
“खेलाडीलाई उचित सुविधा र अवसर दिइयो भने, उनीहरूको भविष्य खेलमार्फत नै सुनिश्चित गर्न सकिन्छ,” अध्यक्ष राईले भन्नुभयो, “राष्ट्रको लागि समर्पित भएर खेल्न सक्ने वातावरण बनाउन स्थानीय तह र खेल संस्थाहरूले अझ सक्रिय भूमिका खेल्नुपर्छ।”
कार्यक्रममा विशेष अतिथिका रूपमा वडाध्यक्ष राजदिप लामाले नवगठित मञ्चलाई शुभकामना दिँदै खेलकुदसँगै सामाजिक काममा समेत अग्रसर हुन आग्रह गर्नुभयो। उहाँले मञ्चले फुटबल तथा भलिबलजस्ता स्थानीय खेलकुद गतिविधिमा थप योगदान दिने विश्वास व्यक्त गर्नुभयो। “खेलकुदको उर्वरभूमिको संरक्षण र प्रवर्द्धनमा स्थानीय सरकार प्रतिबद्ध छ,” वडाध्यक्ष लामाले बताउनुभयो।
मञ्चको अध्यक्षमा पन्नुलाल धामी, उपाध्यक्ष राजकुमार राई, सचिव गोविन्द शाह, कोषाध्यक्ष ध्वजवीर लिम्बु, सहसचिव नमस धामी चयन हुनु भएको छ। सदस्यहरूमा चेतमान बानिया, लक्ष्मण थापा, रामकुमारी राई, र अनिता धामी रहेका छन्।
कार्यक्रममा नेपाली काँग्रेस इकाइ सभापति शिशिर तामाङ, क्षेत्रीय सल्लाहकार रामराज महत, महाधिवेशन प्रतिनिधि पुना धामीलगायतको उपस्थिति थियो। वक्ताहरूले मञ्चको गठनसँगै बराहक्षेत्रमा फुटबल विकासले नयाँ गति लिने विश्वास व्यक्त गरे।