धरान/ देशकै प्रमुख धार्मिक तीर्थस्थल बराहक्षेत्रमा अब व्यवस्थित शवदाह स्थल निर्माण हुन लागेको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतरास्थित दुर्गासाघाट क्षेत्रमा दैनिकजसो अन्तिम संस्कार गरिँदै आए पनि हालसम्म यहाँ व्यवस्थित शवदाह स्थल थिएन ।

दाउराको अभाव, झरीपानी, भीड व्यवस्थापनको कठिनाइजस्ता समस्या खेप्दै आएका सर्वसाधारणका लागि यो अब सहज बन्ने छ ।
बराहक्षेत्र क्षेत्रको धार्मिक र सामाजिक महत्वलाई ध्यानमा राख्दै मारवाडी सेवा समिति धरानको आर्थिक सहयोगमा शवदाह स्थल निर्माण गर्न लागिएको हो ।
शवदाह स्थलको शिलान्यास कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री षडानन्द मण्डलले गरेका छन् । शिलान्यासका क्रममा मन्त्री मण्डलले बराहक्षेत्रलाई धार्मिक पर्यटन केन्द्रको रूपमा विकास गर्न प्रदेश सरकारले योजना अघि बढाउने बताए ।
भारतका साधुसन्त र धार्मिकविद्सँग पनि छलफल गरेर क्षेत्रीय विकासमा काम गरिने उनले उल्लेख गरे ।
मारवाडी सेवा समितिका अध्यक्ष पितरुमल अग्रवालले बराहक्षेत्र नगरपालिकाका जनप्रतिनिधि, प्रशासकीय अधिकृत र धार्मिकजगतका विद्वानहरूसँग छलफलपछि डिपिआर तयार गरेर निर्माण प्रक्रिया अघि बढाइएको जानकारी दिए । उनका अनुसार समितिले समाजसेवालाई केन्द्रविन्दुमा राखेर आवश्यक पूर्वाधार निर्माणमा सधैं सक्रियता देखाउँदै आएको छ ।
बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले गङ्गाभन्दा पनि महत्व बोकेको कौशिकी नदीको किनारमा रहेको बराहक्षेत्र क्षेत्र चारधाममध्ये एक धर्मस्थल भएको बताउँदै यस्तो पवित्र ठाउँमा व्यवस्थित शवदाह स्थल हुनु अत्यावश्यक भएको बताए ।
धार्मिक मान्यताअनुसार बराहक्षेत्रमा अन्तिम संस्कार गर्दा पुण्य प्राप्त हुने विश्वासले दैनिक ४–५ जना शव यहाँ ल्याइने गरे पनि सुविधाजनक पूर्वाधारको अभावमा समस्या हुँदै आएको उनले जनाए ।
शवदाह गर्न आउनेहरू झरीमा भिजेर, दाउराको अभाव झेल्दै, धार्मिक विधिको मर्यादा निभाउन कठिनाइ भोग्दै आएका छन् ।
अब भने व्यवस्थित संरचना निर्माणपछि सर्वसाधारणमा विश्वास बढ्ने र धर्म, संस्कृति तथा पर्यटनको संरक्षणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । धार्मिक र सामाजिक उत्तरदायित्व बोक्दै आएको मारवाडी सेवा समितिको यो योगदानले बराहक्षेत्रको महत्त्व अझ बढ्ने देखिन्छ ।