विराटनगर/ मोरङको धनपालथान गाउँपालिका–१ स्थित गदिया खोलाको किनारमै १० बोरा गाँजा लुकाइएको अवस्थामा प्रहरीले फेला पारेको छ।
बिहीबार बिहान १ बजेतिर इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले उक्त गाँजा बरामद गरेको हो।
प्रहरी इन्स्पेक्टर नरेन्द्रकुमार बोगटीको नेतृत्वमा खटिएको टोलीले विशेष सूचनाका आधारमा चलाएको अपरेसनमा ३ सय २३ किलो ३ सय ग्राम गाँजा फेला पारेको हो।
गाँजा खोलाको किनारमा बेवारिसे अवस्थामा प्लास्टिकका १० बोरा भित्र राखिएको थियो।
मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुँडालका अनुसार गाँजा तस्करीका लागि तयारी अवस्थामा भण्डारण गरिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। प्रहरीले सशस्त्र प्रहरी बल बीओपी नोचाको सहयोगमा उक्त गाँजा बरामद गरी इलाका प्रहरी कार्यालय रंगेलीमा सुरक्षित राखेको जनाएको छ।
‘कसले ल्याएर गाँजा राखेको हो भन्ने विषयमा हाल अनुसन्धान भइरहेको छ,’ प्रहरी स्रोतले जनाएको छ।
पछिल्लो समय मोरङको दक्षिणी क्षेत्रमा लागूऔषध कारोबर बढ्दो छ, विशेषगरी भारतीय सीमा नजिकैका खोलानाला, गोदाम र बारी क्षेत्रलाई तस्करहरूले ‘सेफ जोन’का रूपमा प्रयोग गर्दै आएको पाइएको छ। प्रहरीले गाँजा भण्डारणमा संलग्न व्यक्तिहरूको खोजी तीव्र बनाएको छ।