फाईल तस्बिर
विराटनगर/ मोरङको जहदा गाउँपालिका–४ हटिया टोलबाट पेस्तोल र घरेलु हतियारसहित दुई जना युवा पक्राउ परेका छन् भने एक जना फरार रहेका छन्।
बुधबार बिहान करिब ६ बजेतिर स्थानीय दिनेश मण्डलको घरमा लुकाइ राखिएको अवस्थामा हतियार बरामद गरिएको हो। प्रहरीले घटनास्थलबाट ‘मेड इन जापान’ लेखिएको एक थान पेस्तोल, एक थान खुकुरी र एक थान मोबाइल फोन बरामद गरेको छ।
हतियार लुकाएको आरोपमा जहदा–४ का अन्दाजी १९ वर्षीय हरिकुमार महतो र आशिष मण्डललाई नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन्। उनीहरूकै साथबाट नम्बर मेटाइएको एउटा होन्डा मोटरसाइकलसमेत बरामद भएको प्रहरीले जनाएको छ।
फरार रहेका अर्का व्यक्ति २० वर्षीय मुकेशकुमार महतोको खोजी भइरहेको प्रहरीको भनाइ छ।
पक्राउ परेका हरिकुमार र आशिष यसअघि मोटरसाइकल चोरीसम्बन्धी मुद्दामा पक्राउ परेका थिए। उनीहरू अदालतको आदेशअनुसार सजाय भुक्तान गरेर करीब एक महिनाअघि मात्र छुटेका थिए।