इलाम/ झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको चिसापानीसम्म पुग्ने फाल्गुनन्द मार्ग निर्माण सुरु भएको तीन दशक बितिसक्यो। तर, अझै यो ३३ किलोमिटर सडक पुरा हुन सकेको छैन। करोडौँ खर्च भइसके पनि सडक निर्माण अलपत्र पर्दा हजारौं नागरिक दैनिक सास्ती भोग्न बाध्य छन्।
दमक–चिसापानी सडक झापा, इलाम र पाँचथरलाई जोड्ने प्रमुख पहुँच मार्ग हो। यही बाटो भएर स्थानीयले कृषि उत्पादन बजारमा पुर्याउने गर्छन् भने दैनिक यात्रा पनि यही बाटो हुँदै हुन्छ। तर, सडक नबन्दा यात्रा हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे बन्छ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र दमक र पूर्व सभामुख सुवास नेम्वाङको क्षेत्र माङसेबुङ जोड्ने यो सडक निर्माण अधुरो रहँदा नेतृत्वमाथि नै प्रश्न उठ्न थालेको छ।
ठेक्का लाग्यो, तर काम भएन
सडक निर्माणको लागि सरकारका तर्फबाट पटक–पटक ठेक्का लगाइयो। पहिलो खण्डमा दमकदेखि ७ किमी सडक कालोपत्रे गर्ने ठेक्का महालक्ष्मी–किरातेश्वर जेभीलाई दिइएको थियो। २०७५ सालमा ३० महिनामा सक्ने गरी सम्झौता भए पनि काम अझै अधुरो छ।
चारपटक म्याद थपिएको भए पनि कम्पनीले काम पूरा गर्न सकेन। हाल दैनिक जरिवाना तिरेर काम भइरहेको सडक डिभिजन दमकका प्रमुख श्यामकुमार यादवले जानकारी दिए।
दोस्रो (१५ किमी) र तेस्रो (११ किमी) खण्डको निर्माणको जिम्मा लुम्बिनी–गणपति जेभीले लिएको थियो। तर, कामको गति सुस्त हुँदा २०७९ मा म्याद सकिएको थियो। यसपछि ठेक्का रद्द गरिएको र कम्पनीको बैंक ग्यारेन्टी समेत जफत गरिएको डिभिजन कार्यालयले जनाएको छ।
तर कम्पनीले अदालतमा मुद्दा हालेपछि काम अगाडि बढ्न सकेको छैन। उच्च अदालत पाटनले कम्पनीको रिट खारेज गरे पनि जिल्ला अदालत झापामा अर्को मुद्दा दर्ता भएकाले निर्माण रोकिएको डिभिजन प्रमुख यादवले बताए।
स्थानीयवासी भने राज्यको गैरजिम्मेवारीबाट पीडित छन्। माङसेबुङ–३ का सजन राई भन्छन्, “हामी सानै छौँदाखेरि सडक बन्ने भनिएको थियो, अहिले पनि हेर्दा उस्तै छ।” माङसेबुङ–२ की समीक्षा खड्काको भनाइ झनै पीडादायी छ – “नेताहरू हरेक चुनावमा बाटो बनाउने भन्छन्, तर आजसम्म केही भएन। अब त मुद्दा परेको भनेर झन् निराश लाग्न थालिसक्यो।”
सडक मर्मतका लागि माङसेबुङ गाउँपालिकाले गत वर्ष १५ लाख रुपैयाँ विनियोजन गरेको थियो। यस वर्ष भने जेसिभी सहयोग गरेर व्यवसायीहरूको इन्धनमा सामान्य मर्मत भइरहेको अध्यक्ष हेमन्त राईले जानकारी दिए। ूसरकारको पहलबिना सडक निर्माण अघि बढ्दैन, अध्यक्ष राईले भने, ूहामी सम्बन्धित निकायलाई दबाब दिइरहेका छौँ।
तीन दशकदेखि निर्माण भइरहको फाल्गुनन्द मार्ग अझै अधुरो रहनु राज्यको असफलता हो। करोडौँ खर्च, पटक–पटकको ठेक्का र बारम्बारको प्रतिबद्धताबीच नागरिकले धुलो र हिलोसँगै यात्रा गर्नु विडम्बनापूर्ण छ। अब यो सडक पूरा गर्न राज्यको इच्छाशक्ति र कानुनी निष्कर्ष दुबै आवश्यक देखिन्छ।
- रासस