धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बीमा बोर्डले प्रथम सेवा केन्द्र सूचीबाट हटाएपछि धरानका प्रमुख राजनीतिक दलहरू आन्दोलित भएका छन्।
उक्त निर्णयप्रति कडा असन्तुष्टि जनाउँदै उनीहरूले आइतबार इलाका प्रशासन कार्यालयमार्फत गृहमन्त्रीको गम्भीर ध्यानाकर्षण गराएका छन्।
नेताहरूको संयुक्त टोलीले इलाका प्रशासन प्रमुख लक्ष्मीप्रसाद रेग्मीलाई ध्यानाकर्षण पत्र बुझाएको हो। प्रमुख रेग्मीले पत्र ग्रहण गर्दै तत्कालै गृह मन्त्रालयमा पठाउने प्रतिबद्धता जनाएका छन्।
ध्यानाकर्षण पत्र बुझाउने क्रममा नेपाली कांग्रेस धरानका सभापति श्याम पोख्रेल, एमाले अध्यक्ष हर्कजङ्ग एभेङ, माओवादी अध्यक्ष उद्दव लिम्बू, जसपा नेपाल अध्यक्ष ताजुब लिम्बू, नेकपा (एस) का अध्यक्ष रेवतीरमण राई, वडा नं १७ का अध्यक्ष मनोज भट्टराईलगायत नेताहरूको उपस्थिति रहेको थियो।
स्थानीय जनस्वास्थ्य सेवा सुलभ रूपमा उपलब्ध गराउने बीपी प्रतिष्ठानजस्तो संस्था सूचीबाट हटाइनु नीतिगत रूपमा घातक भएको उनीहरूको तर्क छ। दलहरूले उक्त निर्णय तत्काल खारेज गर्न माग गर्दै जनआवाजको सुनुवाइ नभए आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी समेत दिएका छन्।