सुनसरी/सुनसरीको देवानगंज गाउँपालिका–३ यादव टोलस्थित एक घरमा गाँजा कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेर ६ किलोभन्दा बढी गाँजा बरामद गरेको छ।
मिति २०८२ साल असार १६ गते राति ११:४० बजे इलाका प्रहरी कार्यालय देवानगंज र प्रहरी चौकी कप्तानगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले राज कुमार यादवको घरमा कानुन अनुसार खानतलासी गर्दा मकैको खोयाको थुप्रोभित्र लुकाई राखिएको अवस्थामा ६.२८ केजी (छ किलो दुई सय अस्सी ग्राम) लागू औषध गाँजा फेला पारेको हो।
प्रहरीले घटनास्थलबाट वर्ष १८ का राज कुमार यादव र निजकै घरमा बस्दै आएका वर्ष १८ कै राजु यादवलाई गाँजासहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान अगाडि बढाइएको जनाएको छ।
प्रहरीका अनुसार लागू औषध कारोबार नियन्त्रण गर्न यस्ता विशेष सूचनाको आधारमा निगरानी र निगरानी-आधारित कारबाहीलाई अझ सशक्त बनाइनेछ।