धरान/ धरान उपमहानगरपालिका–१६ नौलोबस्तीस्थित बहुभाषिक पाठशालाको परिसरमा श्रमदानको क्रममा एक बालिकामाथि यौन दुर्व्यवहार भएको आरोप सार्वजनिक भएको छ।
घटनाले प्रहरी चौकी निर्माणका विषयमा देखिएको विवादलाई झन् जटिल बनाएको छ।
स्थानीय महिलाहरूका अनुसार, ग्याबियन लगाउने कामका लागि श्रमदान भइरहेको बेला टिसर्ट लगाएका एक वृद्ध श्रमदाताले बालिकालाई बोलाई अश्लील व्यवहार गरेका थिए।
एक महिलाले बताइन्, “बालिकालाई बोलाएर लैजाँदै गर्दा ठूला बुबाले देखेपछि ती वृद्ध भागेका थिए। म आफैं दौडिएर समातेँ, तर पछि गल्ती भयो भन्दै छोडिदिन आग्रह गरियो। पुलिस बोलाउँछौं भन्दा एक युट्युबरले समेत नछोड्नुस् भनेका थिए।”
वडा नं. १६ का अध्यक्ष मुरारी भट्टराईले समेत घटनाको पुष्टि गरेका छन्।
तर उनले उक्त घटनाबारे तत्काल नबोलेको कारण बताए, “म माथि श्रमदानमा अवरोध ल्याएको आरोप लाग्ने डरले चुप बसेँ। घटना त भएको थियो तर म खोलैखोला लागेँ।”
यो आरोपसँगै धरान–१६ मा बहसको अर्को चर्को विषय बनेको छ—अस्थायी प्रहरी चौकी निर्माण। प्रदेश सरकारबाट विनियोजित बजेटमार्फत सोही स्थानमा चौकी बनाउने तयारी भइरहेकोमा मेयर हर्कराज राई (साम्पाङ)ले निर्माण कार्य रोक्न निर्देशन दिएका थिए।
उनले बहुभाषिक पाठशालाको मुख्य गेटमा ताला लगाउन निर्देशन दिँदै चौकी स्थानान्तरणको प्रस्ताव अघि सारेका हुन्।
स्थानीयवासी र वडा अध्यक्ष भने पहिले नै शुरू भइसकेको निर्माण कार्य रोक्न नहुने अडानमा छन्।
अध्यक्ष भट्टराईका अनुसार कार्यपालिका बैठकको निर्णय अनुसार १० लाख रुपैयाँ बजेट विनियोजन भइसकेकाले चौकी त्यही ठाउँमा बन्नु आवश्यक छ। “कम्पाउण्ड वाल लगाएर पाठशाला र चौकी छुट्याउन सकिन्छ,” उनले स्पष्ट पारे।
यसबीच, मेयर साम्पाङले बालिकामाथि दुर्व्यवहारको आरोपबारे सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका छन्।
“हिजो १६ को एक महिलाले निकै पहिल्यै लट्ठी टेक्दै आउने बुढो मान्छेले यौन दुर्व्यवहार गर्यो भन्ने आरोप लगाएको सुनेँ,” उनले लेखेका छन्, “प्रमाणित गर्नुहोस्, म कारबाही गर्छु।
होइन भने सार्वजनिक माफी माग्नुपर्छ र कस्ले आरोप लगायो भन्ने पनि खुल्नुपर्छ।”