विराटनगर/ मोरङ जिल्ला कारागारमा सजाय भोगिरहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ ।
लागुऔषध मुद्दामा दोषी ठहर भई कैद भोगिरहेका सुनवर्षी नगरपालिका–२ का २४ वर्षीय उमेश दर्जीको मंगलबार साँझ विराट शिक्षण अस्पताल बुढीगंगामा मृत्यु भएको कारागारका जेलर गौरव ढुंगेलले जानकारी दिए ।
ज्वरो र खुट्टा सुन्निने समस्या देखिएपछि उनलाई गत जेठ ३० गते कोशी अस्पताल भर्ना गरिएको थियो । कोशीमा उपचार सम्भव नभएपछि असार ३ गते थप उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो ।
लामो समयदेखि अस्पतालमा उपचाररत दर्जीको स्वास्थ्यमा सुधार नआएपछि मंगलबार साँझ ७ः५० बजेतिर मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।
दर्जीलाई जिल्ला अदालत मोरङले लागुऔषध मुद्दामा ५ वर्ष २ महिना कैद र ७ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । उनी २०८१ पुस ४ गतेदेखि कारागारमा थुनामा थिए ।
मृतकको शव जिम्मा लगाउन परिवारसँग समन्वय भइरहेको र घटनाबारे आवश्यक प्रक्रिया अघि बढाइएको जेलर ढुंगेलले बताए । पछिल्लो समय मोरङ कारागारभित्र कैदीबन्दीको मृत्यु हुने घटनामा वृद्धि देखिएको छ ।