धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन शल्यक्रिया गरी कृत्रिम घुँडा प्रत्यारोपण गर्ने कार्य सफल भएको छ ।
चिकित्सकीय भाषामा ‘पूर्ण रूपमा घुँडा प्रतिस्थापन’ (टोटल निई रिप्लेसमेन्ट) भनिन्छ ।
मोरङको सुन्दरहरैँचा–९, मदरसा टोलकी ७१ वर्षीया हदिसा खातुनको देब्रे घुँडाको शल्यक्रिया बिहीबार सफलतापूर्वक सम्पन्न गरिएको विजयपुर हस्पिटलका प्रमुख अस्पताल प्रशासक इन्दु नेपाल योन्जनले जनाए । वरिष्ठ हाडजोर्नी, स्पाइन तथा निई रिप्लेसमेन्ट विशेषज्ञ डा. जनक दास कथवनियाको नेतृत्वमा शल्यक्रिया सम्पन्न भएको हो ।खातुन लामो समययता दुवै घुँडा दुख्ने तथा टेक्न नहुने समस्याबाट पीडित थिइन् ।
विभिन्न परीक्षणपछि चिकित्सकहरूले उनका दुवै घुँडाका हाड जटिल प्रकारले खिइएको तथा नसा र अन्य मांसपेशीहरूमा चोट लागेर त्यस्तो समस्या भएको बताएका थिए । दाहिने घुँडाको सघन शल्यक्रिया गरी एक वर्षअघि नै कृत्रिम घुँडा प्रत्यारोपण गरिएको थियो । विजयपुर हस्पिटलमा पनि यस प्रकारको शल्यक्रिया गरिने जानकारी पाएपछि देब्रे घुँडाको शल्यक्रियाका लागि आमालाई यहाँ ल्याएको उनका छोरा अताबुल मन्सुरीले बताए ।
सो अस्पतालमा यसअघि पनि हाडजोर्नी, नसा, स्पाइन (मेरुदण्ड), हिपलगायतका अङ्गको सघन शल्यक्रिया गर्ने गरेको थियो ।
अब भने कृत्रिम घुँडा प्रतिस्थापन तथा पुनःस्थापना जस्तो जटिल शल्यक्रिया पनि हुन थालेको अस्पतालका प्रमुख प्रशासक योन्जनले जनाए ।