इटहरी/ देशभरका ११ वटा उपमहानगरपालिकामध्ये सबैभन्दा धेरै बेरुजु रकम सुनसरीको इटहरी उपमहानगरपालिकामा देखिएको छ ।
महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनअनुसार इटहरीमा १ अर्ब २६ करोड रुपैयाँ बराबरको बेरुजु रहेको उल्लेख छ ।
हालै सार्वजनिक भएको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा मात्रै १६ करोड २१ लाख १२ हजार ५७८ रुपैयाँ बेरुजु थपिएको छ । तर, सो अवधिमा बेरुजु फर्छ्यौट भने शून्य देखिएको छ ।
त्यसैगरी, उपमहानगरपालिकामध्ये सबैभन्दा कम बेरुजु बुटवल उपमहानगरपालिकामा देखिएको छ । बुटवलमा जम्मा ३ लाख ३८ हजार रुपैयाँ बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।
इटहरीपछि बढी बेरुजु रहने उपमहानगरपालिकामा जनकपुर, तुलसीपुर, जितपुर–सिमरा, कलैया, घोराही, हेटौंडा रहेका छन् । त्यसपछिको सूचीमा धरान उपमहानगरपालिका पर्छ ।
धरानमा अहिले ४१ करोड ९६ लाख रुपैयाँ बेरुजु देखिएको छ । चालु आर्थिक वर्षमा ८ करोड ७६ लाख ९७ हजार रुपैयाँ थप बेरुजु भएको छ ।
यद्यपि, आर्थिक वर्ष २०८०/८१ मा १ करोड ६७ लाख २६ हजार रुपैयाँ बराबरको बेरुजु फर्छ्यौट प्रक्रियामा रहेको उल्लेख छ ।