बराहक्षेत्र / ‘भात नपकाएको’ भन्दै सुरु भएको सामान्य भनाभन ज्यानै जाने घटनामा परिणत भएको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–५ मुसहरी टोलमा घरेलु विवादका कारण २४ वर्षीया ढलिसदा मुसहरको ज्यान गएको हो ।
श्रीमान् सोनिया मुसहरको कुटपिटबाट गम्भीर घाइते भएकी ढलिसदाको उपचारको मौका नपाउँदै मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
प्रहरी निरीक्षक दिवस कुँवरका अनुसार शनिवार राति मदिरा सेवन गरेर घर फर्किएका ३० वर्षीय सोनियाले घरमा खाना तयार नभएको भन्दै पत्नीमाथि आक्रोश पोख्दै निर्घात कुटपिट गरेका थिए ।
अत्यन्त कमजोर अवस्थामा रहेकी ढलिसदालाई उपचारका लागि अस्पताल लैजानुको साटो घरमै राखिएको र आइतबार बिहान गम्भीर अवस्थामै उनको मृत्यु भएको प्रहरी निरीक्षक कुँवरले जानकारी दिए ।
घटनाको खबर पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । अभियुक्त सोनियालाई नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको छ ।
मृतकको शव कानुनी प्रक्रिया पूरा गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएकाे छ।