धरान/धरान–९ स्थित विष्णु मेमोरियल स्कूलले विद्यार्थीहरूलाई मौलिक सीप सिकाउने उद्देश्यले दुना, टपरी र बात्ती बनाउन तालिम सञ्चालन गरेको छ।
विद्यालयले कक्षा ७ देखि १० सम्मका इच्छुक विद्यार्थीहरूलाई लक्षित गरी दुई दिने तालिम आयोजना गरिएको हो।
जुनियर युवा रेडक्रस सर्कलको पहलमा शुक्रबार र शनिबार गरी तालिम सञ्चालन भइरहेको छ।
“हाम्रा नानीहरू व्यवहारिक ज्ञानमा कमजोर हुँदै गएका छन्, मौलिकता हराउँदैछ, बिर्सिँदैछ,” विद्यालयका शिक्षक भवानी प्रसाद खतिवडाले भने।
“पितापुर्खाहरूले प्रयोग गर्दै आएको दुना, टपरी र बात्ती जस्ता मौलिक सीपहरू नयाँ पुस्तालाई सिकाउनु जरुरी छ। त्यसैले हामीले यो तालिम सञ्चालन गरेका हौं।”
विद्यालयका प्रिन्सिपल निलमकुमार श्रेष्ठका अनुसार आधुनिकताको दौडमा परम्परा, मौलिकता र संस्कृतिको ज्ञान ओझेल पर्दै गएको अवस्था छ।
यस्तो बेला विद्यार्थीहरूलाई परम्परागत सीप सिकाउनु जरुरी भएको उनको भनाइ छ।
“यस्ता तालिमले परम्परागत सीपको संरक्षण र प्रवर्द्धन त हुन्छ नै, साथै स्थानीय रूपमा उपलब्ध वस्तुहरू प्रयोग गरेर व्यवहारिक ज्ञान पनि हासिल हुन्छ,” श्रेष्ठले बताए।
“शिक्षण–शिक्षण भनेको किताबमा मात्र सीमित हुँदैन। यस्ता कार्यक्रमले समूहमा काम गर्ने र सिकेका कुरा एकअर्कालाई सिकाउने अवसर पनि दिन्छ।”
श्रेष्ठका अनुसार विद्यालयलाई प्लास्टिकमुक्त क्षेत्र घोषणा गर्ने तयारी भइरहेको छ। साथै, विद्यालयमा परम्परागत औजार, विभिन्न जातजातिका भेषभूषा र वाद्ययन्त्रहरू राखिने मिनी म्युजियम स्थापना गर्ने योजना पनि अघि बढाइएको छ।
विद्यालयले अध्ययनसँगै १३ वटा अतिरिक्त विधाहरूमा १५ जना प्रशिक्षकमार्फत नियमित कक्षा सञ्चालन गरिरहेको छ। “हाम्रो पहिलो प्राथमिकता पठन–पाठन नै हो, तर अतिरिक्त क्रियाकलापमा पनि विशेष जोड दिएका छौं,” श्रेष्ठले भने।
वडा नं. ९ का अध्यक्ष रुपेश आचार्यले विद्यालयले सञ्चालन गरेको व्यवहारिक तालिमको प्रशंसा गरे। “आजभोलि घरमा आफ्ना नानीहरूलाई व्यवहारिक कुरा सिकाइँदैन।
पढ् मात्र भनिन्छ। विद्यालयमै यस्ता तालिमहरू हुँदा उनीहरूले घरमै पनि व्यवहारिक सीप प्रयोग गर्न सक्छन्,” उनले बताए।
अध्यक्ष आचार्यले विद्यालयलाई हप्तामा एउटा कक्षा व्यवहारिक ज्ञानको लागि छुट्याउन सुझावसमेत दिएका छन्।