सुनसरी/ वराहक्षेत्र नगरपालिकाले श्रीलंका टप्पु क्षेत्रमा रहेका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा आधुनिक कृषि उपकरणहरू वितरण गरेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मकै पकेट क्षेत्र विकास कार्यक्रम र कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी वित्तीय हस्तान्तरण कार्यक्रम मार्फत ४३ थान विद्युतिय मोटर, ६० बन्डल (२५ केजी) डेलिभरी पाइप तथा १५५ थान त्रिपाल वितरण गरिएको नगरपालिकाका कृषि विकास शाखा प्रमुख तुलसा लिम्बुले जानकारी दिइन्।
उनका अनुसार, कृषकहरूले विद्युतिय मोटर किन्न ९ हजार ९९५ रुपैयाँ, डेलिभरी पाइप प्रतिकेजी १३५ रुपैयाँ र त्रिपाल प्रति थान १ हजार ७५० रुपैयाँ अनुदान दरमा उपलब्ध पाएका छन्।
नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार आवेदन माग गरि छनोट भएका कृषकहरूलाई गरैया कृषि सहकारी संस्थाको समन्वयमा अनुगमन गरि वितरण प्रक्रिया अघि बढाइएको हो।
मंगलबार आयोजित वितरण कार्यक्रममा नगरप्रमुख रमेश कार्की, उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कटुवाल, लेखा अधिकृत बिरेन्द्र यादव, कृषि विकास शाखा प्रमुख तुलसा लिम्बु र गरैया कृषि सहकारी संस्थाका अध्यक्ष बद्रि राईको उपस्थिति रहेको थियो।
नगरप्रमुख कार्कीका अनुसार टप्पु क्षेत्रका कृषकहरू मेहनती र कृषि उत्पादनमा अग्रणी रहेकाले थप प्रविधि र उपकरणमार्फत उत्पादन वृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
"श्रीलंका टप्पुबाट मकै लगायत अन्य नगदे वालीहरूको निर्यातमा समेत योगदान हुने विश्वास लिएका छौं," नगरप्रमुख कार्कीले बताए। उनका अनुसार वितरण गरिएका उपकरणहरूको प्रयोग र प्रभावकारितामाथि नियमित अनुगमन गरिने छ।