सुनसरी/ एसियन हाइवे अन्तरगत पर्ने काँकडभिट्टा–लौकही सडक खण्डको पश्चिमी हिस्सामा मंगलबारदेखि औपचारिक रूपमा कालोपत्रे कार्य सुरु गरिएको छ । मोरङको लक्ष्मीमार्गदेखि चिसाङ खोलासम्मको करिब १० किलोमिटर सडकमा पहिलो चरणमा एकतर्फी कालोपत्रे थालिएको हो ।
सडक निर्माणको जिम्मा लिएको सिआरएफजि–टुण्डि जेभी निर्माण कम्पनीले असार महिनाभित्रै पहिलो चरणको काम सक्ने लक्ष्य राखेको छ । कम्पनीका कन्ट्रयाक इन्जिनियर डोरमणि पौडेलका अनुसार, “मौसम अनुकूल रहेकाले दैनिक झन्डै आधा किलोमिटरभन्दा बढी कालोपत्रे हुने अपेक्षा छ ।”
अन्तर्राष्ट्रिय रणनीतिक महत्त्व राख्ने यो सडक एसियन हाइवे सञ्जालमा पर्दछ । पूर्वी नाका काँकडभिट्टाबाट पश्चिमी सीमा गौरा फन्टा (कैलाली) सम्मको महत्त्वपूर्ण यातायात तथा व्यापारिक मार्गका रूपमा यसले भूमिका खेल्नेछ ।
यो आयोजनाअन्तर्गत काँकडभिट्टादेखि इटहरीसम्मको ९५ किलोमिटर सडकलाई पाँच भागमा विभाजन गरिएको छ । जसमध्ये तीन खण्ड सडक निर्माण र दुई खण्ड पुल निर्माणका लागि छुट्याइएको छ ।
पूर्वतर्फको ४५ किलोमिटर(काँकडभिट्टा–केर्खा) सडक खण्ड कालिका कन्स्ट्रक्सनले निर्माण गरिरहेको छ । पश्चिम खण्ड (केर्खा–गोठगाउँ) सिआरएफजि–टुण्डि जेभीको जिम्मामा छ । गोठगाउँदेखि इटहरीसम्मको ठेक्का भने कोभेक सिआइजिसि टुण्डि जेभीले लिएको छ ।
इटहरी खण्डमा भने सडक छेउका संरचना र स्थानीयको अवरोधका कारण काम अघि बढ्न सकेको छैन । जिल्ला प्रशासन कार्यालय, सुनसरीले ३५ दिने सूचना जारी गरी संरचना हटाउन आग्रह गरिसकेको छ ।
सडक निर्माणको सम्झौता सन् २०२४ फेब्रुअरी २ मा गरिएको हो भने निर्माण सम्पन्न गर्ने म्याद २०२७ फेब्रुअरी २ सम्मको छ । आयोजनामा गुणस्तरीय निर्माण सुनिश्चित गर्न अन्तर्राष्ट्रियस्तरका कन्सल्टेन्टहरूद्वारा प्राविधिक परीक्षण र मूल्याङ्कन भइरहेको बताइएको छ ।