श्रोत : omribung.com
धरान/ पूर्वी नेपालको सुन्दर नगरी धरान अहिले गम्भीर समस्या भोगिरहेको छ।
धरान–२० स्थित सुलिकोट मार्गमा पर्ने स्थानीय काली खोलामा दैनिक सयौं मानिस नुहाउने र लुगा धुने गरेका कारण त्यही खोला आसपास बसोबास गर्ने १२५ घरधुरी फोहर पानी पिउन बाध्य भएका छन्।
नेपालमा मनसुन नआउँदै गर्मी अत्यधिक बढिरहेको बेला विराटनगर लगायत आसपासका ठाउँबाट समेत मानिसहरू काली खोलामा आउन थालेका छन्। गर्मी छल्न र रमाइलो गर्न खोलामा पौडी खेल्ने, साबुनसहित नुहाउने, लुगा धुने क्रमले खोलाको पानी दुर्गन्धित र प्रदूषित बनेको छ।
स्थानीयहरू आक्रोशित
स्थानीयवासीका अनुसार यस्तो समस्या १६–२० वर्षदेखि दोहोरिएको हो। खोलामा नुहाउने क्रियाकलाप रोक्न अहिलेसम्म कुनै "प्रवेश निषेध सूचना बोर्ड" राखिएको छैन। स्थानीयहरू अब वडाध्यक्षसँग बैठक बसेर सूचना बोर्ड राख्ने तयारीमा छन्।
मिति २०८२ जेठ ३१ गते बेलुकी करिब ३:५० बजे पत्रकार तथा स्थानीय टोली खोलामा गस्तीमा गएको थियो। टोलीले नुहाउने तथा लुगा धुने व्यक्तिहरूलाई सम्झाइबुझाइ गर्दा अन्दाजी ३०–३५ वर्षकी एक महिलाले अपशब्द बोल्दै दुर्व्यवहार गरेको प्रत्यक्षदर्शीहरूले जनाएका छन्।
खोलाबाट पाइपमार्फत पानी संकलन गरिने भएकाले त्यसमा फोहर मिसिँदा स्वास्थ्य जोखिम बढेको स्थानीयको गुनासो छ। उनीहरूले वडा र नगरपालिकालाई खोला व्यवस्थापन, चेतनामूलक सूचना, र कडाइका साथ नियम कार्यान्वयन गर्न तत्काल पहल गर्न आग्रह गरेका छन्।
धरान जस्तो सुरम्य पर्यटकीय सहरको सौन्दर्य र स्वास्थ्य दुबै जोगाउन, काली खोलालाई सुरक्षित बनाउने नीति निर्माण र कार्यान्वयन अत्यावश्यक देखिएको छ।

श्रोत : omribung.com