धरान/ गर्मीको चर्को प्रभावसँगै कोशी प्रदेशमा रगत अभाव हुन थालेको छ ।
प्रदेशभरका अस्पतालहरूमा दैनिक जसो सुत्केरी, डायलिसिस र क्यान्सर बिरामी तथा दुर्घटनाका घाइतेलाई रगतको आवश्यक पर्छ ।
तर, रगतको आपूर्ति ठप्पजस्तै हुँदा उपचार सेवा नै प्रभावित हुन पुगेको हो ।प्रदेशका प्रमुख रक्तसञ्चार केन्द्रहरूबाट प्राप्त विवरणले देखाएअनुसार पनि कोशीमा रगतको चरम सङ्कट देखिएको छ । जसका कारण तत्काल रगतको आवश्यकता पर्ने बिरामी मर्कामा परेका छन् । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै दैनिक ७० देखि ८० पिन्ट रगत आवश्यक पर्छ ।
तर, पछिल्लो समय त्यो परिमाणमा रगत उपलब्ध हुन सकेको छैन । रक्तदानमा गिरावट, गर्मीका कारण नियमित रक्तदाता नहुनु र बिरामीको चाप अत्यधिक हुनु अभावको प्रमुख कारण रहेको रक्तसञ्चार केन्द्रहरूले जनाएका छन् ।
विशेष गरी ‘एबी पोजेटिभ’ रगतको तीव्र अभाव देखिएको छ । जसका कारण ‘एबी पोजेटिभ’ रगत आवश्यक पर्ने बिरामी सबैभन्दा बढी समस्यामा परेका छन् । रगत अभावले बिरामीलाई उपचार गर्न ठुलो चुनौती रहेको धरान रक्तसञ्चार केन्द्रले जनाएको छ ।
केन्द्रकी प्रमुख कल्पना अधिकारीका अनुसार रगत अभावका बेला बिपीमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी आफैँ रक्तदान गरेर समस्या समाधानमा लाग्ने गरेका छन् ।
‘कसैले आफन्त वा रक्तदाता खोजेर ल्याउँछन्,’ उनले भनिन्, ‘आफन्त वा रक्तदाता नभेटाउनेहरूलाई हामी आफैँले पहल गरेर रगतको जोहो गरिदिन्छौ ।’अप्ठेरो परेको समयमा संस्थागत समन्वयभन्दा पनि व्यक्तिगत समर्पणले उपचार सम्भव बनिरहेको छ । ‘एबी पोजेटिभ’ मात्रै हैन, कोशी प्रदेशमा अन्य समूहको रगतको पनि अभाव छ ।
नेपाल रेडक्रस सोसाइटीअन्तर्गतको प्रादेशिक रक्तसञ्चार केन्द्र विराटनगरका प्रमुख शिवानन्द यादवका अनुसार प्रदेशका सबै १२ जिल्लाका केन्द्रमा सबै रक्त समूहको अभाव छ ।
विराटनगरमा दैनिक ८० देखि सय पिन्ट रगत आवश्यक पर्ने गरे पनि हाल आएर माग उच्च छ । भारत र मधेस प्रदेशबाट समेत बिरामी आउँदा रगतको व्यवस्थापन थप कठिन भएको यादव बताउँछन् ।
‘स्थिति अत्यन्तै गम्भीर छ । मागअनुसारको रगत छैन,’ उनले भने । चालु आर्थिक वर्षको १० महिनामा मात्र विराटनगरमा २२ हजार ४ सय ६७ पिन्ट रगत प्रयोग भएको छ ।
कोशी प्रदेशमा ५२ हजार १ सय ६० पिन्ट रगत खपत भएको तथ्याङ्कले देखाउँछ । धरान, उर्लाबारीको मङ्गलवारे र दमकका केन्द्रहरूबाट रगत ल्याएर अल्पकालीन समाधान गर्ने प्रयास भइरहे पनि दीर्घकालीन समाधानको विकल्प भने अझै तय भएको छैन ।
रगतको म्याद जम्मा ३५ दिन मात्र हुने भएकाले समयमै रगत सङ्कलन र वितरण गर्नु नितान्त आवश्यक भएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।
तर, रक्तदानप्रति जनचेतनाको अभाव, गर्मीका कारण रक्तदाताको सङ्ख्यामा गिरावट र बढ्दो बिरामीको चापले गर्दा समस्या झनै भयावह बन्दै गएको छ ।
सङ्कटपूर्ण घडीमा प्रादेशिक रक्तसञ्चार केन्द्रले नागरिक, सामाजिक सङ्घ संस्था, स्वयंसेवी समूह र युवाहरूलाई रक्तदानमा सक्रिय सहभागिता जनाउन अपिल गरेको छ ।
‘ज्यान बचाउने काममा सबैको सघन सहयोग आवश्यक छ,’ केन्द्रले भन्यो । केन्द्रले आपत्कालीन रक्तदानका लागि सबैमा आह्वानसमेत गरेको छ ।