पाँचथर/ पाँचथरको फिदिम नगरपालिका–११ स्थित एक माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीया छात्राले शौचालयमै शिशु जन्माएको घटना सार्वजनिक भएपछि गाउँमा सनसनी फैलिएको छ।
घटना मंगलबार राति फिदिमको लप्सिबोटेमा भएको हो। आफन्तको घरमा बस्दै आएकी ती किशोरीले शौचालयभित्रै शिशु जन्माएकी थिइन्। जन्मेको शिशु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता प्रहरी निरीक्षक रुपेश तामाङले जानकारी दिए।
घटनापछि अत्यधिक रक्तस्राव भएकोले ती किशोरीलाई तत्कालै पाँचथर अस्पताल भर्ना गरिएको छ। शिशुको शव पोष्टमार्टमका लागि तयारी भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शिशुको जन्म कसरी र किन भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ। औषधिको प्रयोग गरेर गर्भपतन गराउने प्रयास गरिएको थियो कि अन्य कुनै कारणले गर्भपतन भएको हो भन्ने खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ।
शिशु कसको हो भन्ने विषयमा प्रहरी अनुसन्धान जारी रहेको र हाललाई जानकारी गोप्य राखिएको छ। किशोरीसँगै बस्ने एक आफन्तलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाले विद्यालय, परिवार र गाउँमा गहिरो असर पारेको छ। स्थानीय बासिन्दाहरूले सामाजिक, नैतिक तथा यौन शिक्षाको पहुँच अझ विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
प्रहरीले घटनालाई अत्यन्त संवेदनशील मानेर आवश्यक अनुसन्धान तीव्र पारिएको जनाएको छ।