खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली आजदेखि खोटाङलगायत किरात बहुल जिल्लाहरूमा औपचारिक रूपमा सुरु भएको छ। ‘खेतीपाती सप्रियोस्, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित किरात समुदायले तीन चुल्हा र भूमिको पूजा गर्दै महिना दिनसम्म साकेला चाड मनाउने परम्परा रहेको छ।
साकेला उभौलीको अवसरमा किरात बस्ती भएका गाउँ–टोल ढोल, झ्याम्टा र साकेला गीतले गुञ्जयमान बन्न थालेका छन्। युवायुवतीदेखि बालक–बृद्धसम्म परम्परागत भेषभूषामा सजिएर गोलो घेरामा साकेला सिली नाच्दै चाडको शुभकामना साटासाट गरिरहेका छन्।
साकेला उभौली वैशाख पूर्णिमादेखि असारसम्म मनाइने पर्व हो, जुन मुख्यतः अन्नबाली रोप्ने सिजन सुरु हुनु अघि मनाइन्छ। ढोल–झ्याम्टाको तालमा गरिने साकेला नृत्यमा खेत जोत्नेदेखि बाली भित्र्याउने प्रक्रियासमेत हाउभाउमार्फत प्रस्तुत गरिन्छ।
खोटाङको हलेसी तुवाचुङ, मझुवागढी, जन्तेढुङ्गा, रूपाकोट, मेरुङलगायत धार्मिक तथा सांस्कृतिकस्थलमा विधिपूर्वक पूजा गरी चाडको सुरुआत गरिएको हो।
मझुवागढीबाट औपचारिक रूपमा सुरू भएको साकेला पर्वको समापन दिक्तेलको माटीकोरे खेलमैदानमा महिना दिनपछि सिली प्रदर्शनसहित गरिनेछ।
साकेला पर्वमा किरात समुदाय मात्र नभई अन्य समुदायका युवायुवतीसमेत सहभागी भएर साकेला सिली नाच्ने प्रचलन बढ्दो छ। यो चाड किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाडका रूपमा मनाउने गर्छन्।
नेपाल सरकारले पनि आज साकेला उभौली र बुद्ध जयन्तीको संयोग परेको दिनमा सार्वजनिक बिदा दिएको छ।