हेटौँडा/ मकवानपुरको हेटौँडामा गत शुक्रबार सडक भासिएर बोलेरो गाडी जमिनमुनि बेपत्ता भएको घटना तीन दिनसम्म पनि समाधान हुन सकेको छैन।
ना.४च ४८३३ नम्बरको माछा बोकेको सिंगल क्याप बोलेरो गाडी गैरीगाउँस्थित हेटौँडा उपमहानगरपालिका–१६ र १७ को सीमामा सडक भासिएर हराएको हो।
डिएसपी श्यामु अर्यालका अनुसार, गाडी रोकिराखेको अवस्थामा अगाडिको पांग्रा भासिन थालेपछि चालक हरेराम राई र सहचालकले गाडी छाडेर भाग्न सफल भएका थिए।
केही सेकेन्डमै सडक भासिँदा गाडी पूरै जमिनमुनि गायब भएको थियो। गाडीमा माछासँगै घाँस काट्ने मेसिन पनि लोड गरिएको थियो।
भासिएको क्षेत्रमा आसपास पाँचवटा माछा पोखरी र बोरिङ रहेको हुँदा जमिन कमजोर भई भासिएको हुन सक्ने अनुमान गरिएको छ।
शनिबार दुईवटा मोटर प्रयोग गरी पानी निकालेर खोजी प्रयास गरिएको थियो, तर गाडी फेला परेको छैन।
घटना सार्वजनिक भएपछि ठूलो संख्यामा सर्वसाधारण घटनास्थल हेर्न पुगेका छन्। भीड व्यवस्थापन गर्न नगर प्रहरीले परिचालन गरिएको छ।
गाडीका धनी र माछापोखरीका मालिक एउटै व्यक्ति हरेराम राई भएकाले आइतबारदेखि पोखरीको पानी र माछा निकालेर गाडी खोज्ने कार्य सुरु गरिएको छ।
उपमहानगरपालिकाले घटनास्थलको भूगर्भीय अध्ययन गर्न खानी तथा भूगर्भ विभागलाई पत्राचार गर्ने निर्णय गरेको छ।
आइतबार बसेको विपत् व्यवस्थापन समितिको बैठकले भूगर्भविद् सहितको विज्ञ टोली मगाएर अध्ययनपछिमात्र गाडीको खोजी अगाडि बढाउने निर्णय गरेको हो। घटनापछि उक्त क्षेत्रमा आउजाउमा समेत रोक लगाइएको छ।
स्थानीयहरूका अनुसार यस क्षेत्र विगतदेखि नै दलदली रहेको र यसअघि पनि गोरु भासिएको घटना भएको बताइएको छ।
वडा नम्बर १६ का अध्यक्ष रामकृष्ण कोइरालाले १० वर्षअघि त्यही क्षेत्रको नजिक गोरु दलदलमा भासिएको देखेको अनुभव सुनाए।