इटहरी/ सुनसरीको रामधुनी नगरपालिका–६ स्थित पिडारी क्षेत्रबाट १८० केजी लागू औषध गाँजासहित एक भारतीय नम्बर प्लेटको एम्बुलेन्स र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
शनिबार राति करिब १० बजे लागू औषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरी, पकली र प्रस्तावित रामधुनी प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले सम्पूर्ण सडक घेराबन्दी गर्दै सघन चेकजाँच गरेको थियो।
जाँचका क्रममा भारतको बिआर ३८ पी ५४१४ नम्बरको एम्बुलेन्स रोकेर तलासी लिँदा, कालो प्लास्टिकले बेरिएका सेतो बोरामा प्याक गरिएको ३०–३० केजीका ६ वटा बोरा, अर्थात कुल १८० केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
एम्बुलेन्स चालक श्रीराज कुमार साह (२५ वर्षीय) सुनसरीको बराहक्षेत्र नगरपालिका–४ निवासी तथा राजेन्द्र साहका छोरा, हाल प्रहरी नियन्त्रणमा छन्।
बरामद लागू औषधसहित एम्बुलेन्स र चालकलाई इलाका प्रहरी कार्यालय पकलीमा राखिएको छ भने घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।