तुम्लिङटार/ संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा घरमै सुतिरहेका एक वृद्धको हत्या भएको छ। हत्या गरी फरार भएका दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।
शनिबार राति करिब १२ बजेतिर आफ्नै घरको बरन्डामा सुतिरहेकै बेला ७२ वर्षीय मीनबहादुर कुमालमाथि दुई अपरिचित व्यक्तिले आक्रमण गरेका थिए।
इलाका प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी इन्स्पेक्टर रामकुमार लामिछानेका अनुसार कुमालको घाँटी थिचेर गम्भीर घाइते बनाइएको थियो। तत्कालै उपचारका लागि मनकामना सामुदायिक अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनाको समयमा कुमालले चिच्याउँदा घरभित्र सुतिरहेकी उनकी पत्नी सुनमाया कुमाल बाहिर निस्केर हेर्दा दुई व्यक्तिले मीनबहादुरमाथि आक्रमण गरिरहेका थिए। उनले होहल्ला गरेपछि छिमेकीहरू घटनास्थलतर्फ दौडिए पनि आक्रमणकारी भने भागिसकेका थिए।
प्रहरीका अनुसार फरार रहेका दुई जनाको पहिचान र खोजी कार्य तीव्र पारिएको छ। हत्या किन र कसरी भएको भन्ने कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
अनुसन्धानलाई तीव्र बनाउन तालिम प्राप्त कुकुरको सहयोग लिइएको र संखुवासभा जिल्ला प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेतको नेतृत्वमा प्रहरी टोली खटिएको प्रहरीले जानकारी दिएको छ।
मृतक कुमाल र उनकी पत्नी मात्र सो घरमा बस्दै आएका थिए भने उनका दुई छोरा विदेशमा रहेका छन्।