काठमाडौँ/ काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा शान्तिपूर्णरुपमा सञ्चालन हुँदै आएको शिक्षक आन्दोलन आइतबार तनावग्रस्त बन्दै हिंस्रक मोडमा पुगेको छ। निषेधित क्षेत्र तोड्ने प्रयासपछि प्रहरी र आन्दोलनरत शिक्षकहरूबीच झडप भएको हो।
नेपाल शिक्षक महासंघको नेतृत्वमा गत वर्षको चैत २० गतेदेखि सुरु भएको काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलन आइतबार २५ औँ दिनमा प्रवेश गरेको छ। यसअघि शान्तिपूर्ण रुपमा अघि बढेको आन्दोलन आइतबार निषेधित क्षेत्र पार गर्ने प्रयाससँगै तनावग्रस्त बनेको हो।
प्रहरीले बल प्रयोग गरेपछि शिक्षकहरूले पनि प्रतिकार गर्दै सडक छेउका ढुंगामुढा गरेका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गर्नुका साथै पानीको फोहोरा समेत प्रयोग गरेको थियो।
झडपका क्रममा एक दर्जनभन्दा बढी शिक्षकहरू घाइते भएका छन्।
नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाका अनुसार, गम्भीर घाइतेहरूलाई सिभिल अस्पतालमा उपचारका लागि पठाइएको छ भने सामान्य घाइतेहरूको उपचार आन्दोलन स्थलमै भइरहेको छ।
घटनापछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक आह्वान गरेको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार, आज दिउँसो तीन बजे नयाँ बानेश्वरस्थित रत्नराज्य माविमा पदाधिकारी,
जिल्ला अध्यक्ष तथा आन्दोलन परिचालन समितिका सदस्यहरूको बैठक बोलाइएको छ। बैठकमा आइतबारको घटनाक्रम र समग्र आन्दोलनको भावी रणनीतिबारे विस्तृत छलफल हुने बताइएको छ।