विराटचोक/ मोरङको सुन्दरहरैँचा–१ हरैँचा बजारमा शुक्रबार बिहान टिपरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएपछि स्थानीय आक्रोशित बनेका छन्। घटना लगत्तै सडक अवरुद्ध गर्दै प्रदर्शन सुरु भएको छ।
विराटचोकबाट विराटनगरतर्फ गइरहेको ना १ क ६२७० नम्बरको टिपरले सोही दिशातर्फ गइरहेको प्रदेश १–०२–०५३ प ७०१० नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा सुनसरी दुहबी–९ का ४० वर्षीय महमद हासिम मियाँको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।
मृतकको शव सडकमा राखेर प्रदर्शनमा उत्रिएका स्थानीयले टिपरको आगजनी प्रयाससमेत गरेका छन्।
भाला, लाठीसहित उत्रिएको भिडलाई नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र र ट्राफिक प्रहरी परिचालन गरिएको छ।
घटनाको अनुसन्धानका क्रममा तीव्र गतिमा गिट्टी बोक्दै आएको टिपर दुर्घटनाको मुख्य कारण भएको प्रारम्भिक अनुमान गरिएको छ।
सो टिपर कान्छाराम कन्स्ट्रक्सनको भएको र विराटनगरका अभिषेक गिरीले भाडामा लिई प्रयोग गर्दै आएको खुलेको छ। चालक पवन योन्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
स्थानीयले टिपरको दादागिरी रोक्नुपर्ने, मृतकलाई क्षतिपूर्ति दिनुपर्ने, र चालकलाई कडा कारबाही गर्नुपर्ने माग राख्दै प्रदर्शन जारी राखेका छन्। डीएसपी मदन केसी नेतृत्वको टोली घटनास्थलमा खटिएको छ।