इटहरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ स्थित जनता चोकबाट प्रहरीले १०२ किलोभन्दा बढी गाँजा बरामद गरेको छ। लागू औषध ओसारपसारमा संलग्न एक युवक पक्राउ परेका छन् भने अर्का फरार छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरी र चिरौलीचोक प्रहरी चौकीबाट खटिएको टोलीले बुधबार राति ८:४५ बजे गुप्त सूचनाका आधारमा भित्री सडकमा चलिरहेको दुई मोटरसाइकल रोकेर जाँच गर्दा गाँजासहित एक युवकलाई नियन्त्रणमा लिएको हो।
पहिलो मोटरसाइकल (को ३७ प ८६३१) का चालक प्रहरीले संकेत गरेपछि सवारी छोडेर भागेका थिए। सो मोटरसाइकलमा एक बोरा र झोलाभित्र ४० किलो ४८० ग्राम गाँजा फेला परेको छ।
त्यसपछि नजिकै जनता चोकबाट यादव टोलतर्फ गइरहेको अर्को मोटरसाइकल (प्र.१–०२–०४३ प ३०६३) जाँच गर्दा थप ६२ किलो २७० ग्राम गाँजा भेटिएको हो। उक्त सवारीमा सवार धनकुटा सांगुरीगढी गाउँपालिका–९ का २२ वर्षीय सलिन राईलाई प्रहरीले पक्राउ गरेको छ।
राईविरुद्ध लागू औषधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ भने फरार अर्का अभियुक्तको खोजी जारी रहेको प्रहरीले जनाएको छ।