धनकुटा । तराइदेखि पहाड हुँदै हिमाली जिल्ला जोड्ने छोटो द्रुत मार्गका रुपमा निर्माण भइ रहेकोे तमोर करिडोर अन्तर्गत मूलघाट–गणेशचोक सडककोे ६२ प्रतिशत काम सम्पन्न भएको छ ।
चतरा देखि सुभाङखोला सम्मको १ सय ५६ किलोमिटर सडक मध्ये धनकुटाको मूलघाट देखि पाँचथरको गणेशचोक सम्मको १ सय १२ किलोमिटर सडकको ६२ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको हो ।
सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथर सम्मको १ सय ५५ किलोमिटर मध्ये १ सय १२ किलोमिटर सडक कालोपत्रेका लागि वि.स २०७९ कात्तिकमा चार अर्ब १६ करोड रुपैयाँमा वि.स २०८२ कात्तिक सम्ममा निर्माण सम्पन्न गर्ने गरि मूलघाटदेखि हाङठुवा ६६ किलोमिटरसम्म रौताहा क्षमादेवी जेभीले २ अर्ब ७२ करोडमा र बाँकी खण्ड एफएक्स कम्पनीले १ अर्ब ४३ करोडमा ठेक्का सम्झैता भएको थियो ।
दुई प्याकेजमा रहेको ठेक्का सम्झौता अनुसार काम भए पनि निर्माण कम्पनी लाई काम गरेको रकम भुक्त्तानी गर्न नसक्दा निर्माण कार्य सोचे अनुसार अगाडी बढ्न नसकेको तमोर करिडोर, चतरा–मुलघाट–सुभाङखोला सडक आयोजनाका प्रमुख प्रदिपमणी निरौलाले जानकारी दिए ।
ग्रावेल गर्ने, वेस हाल्ने र पिच गर्ने बाहेकका अन्य काम करिब सम्पन्न हुन लागेको भए पनि सम्झौता अनुसार रकम भुक्तानी दिन नसक्दा निर्माण कम्पनीले समेत कामलाई दु्रत गतिमा लान नसकेको निरौलाको भनाई छ । उनले समयमै भुक्तानी दिन नसक्दा काम समेत प्रभावित भएको बताए ।