जनकपुरधाम । प्रत्येक नयाँ वर्षको पहिलो दिन अर्थात् १ वैशाखका दिनमात्र फूल्ने फूलको सिरहामा रहेको छ ।
उक्त फूल लहान नगरपालिका–१२ र २४ मा पर्ने सलहेश फूलबारीमा हरेक वर्ष बैशाख १ गते मात्र फुल्ने भएकाले सर्वसाधारणको ठूलो भिड लाग्ने गर्दछ ।
फूल हेर्न र दर्शन गर्नको निम्त्ति नेपाल लगायत भारतबाट समेत हजारौं श्रद्धालु आउने गर्दछन ।फुलबारीमा रहेको हारम प्रजातिको तीनवटा बोटमा यसवर्ष फूल फुलेको छ । फूलबारीमा हारामको बोट नजिकै रहेको राजा सलहेश र मालिनी मन्दिर (गहबर) मा भाकल गर्दा मनोकामना पूरा हुने जनविश्वास छ ।
युवायुवतीले उक्त फूललाई साक्षी राखेर विवाहसमेत गर्छन् ।हारमको बोटमा सातौं–आठौं शताब्दीदेखि नै फूल फुल्दै आएको स्थानीय वृद्धवृद्धा बताउँछन् । यहाँ भाकल गर्दा सन्तान प्राप्त हुने जनविश्वास छ । सन्तान पाएकाहरुले यहाँ आएर आजको दिन झापा र लड्डु चढाउने गर्छन् ।
फूलको बोटमा फूल फूल्नु कुनै अनौठो विषय होइन् तर एकै रुखमा प्रत्येक वर्ष एक दिनमात्र माला आकारको फूल फूल्ने र साँझ ओइलिएर जाने गरेकाले अनौठो मानिन्छ । त्यसैले यहाँ हरेक वर्ष मेला भर्न टाढा–टाढाबाट मानिस आइपुग्छन् ।सलहेश १४ औं शताब्दीका राजा थिए ।
सलहेश गाथामा वर्णन गरिएअनुसार राजा सलहेशले एकैदिनमा मानिकदहमा नुहाउने, फूलबारीमा फूल टिप्ने, सिलहट अखाडामा कुस्ती खेलेर कुलदेवीको पूजा गरी कञ्चनगढमा पीरमार्का सुन्ने गर्दथे । राजा सलहेशलाई अहिले पनि दुषाध (दलित) समुदायले कुलदेवताको रुपमा पुज्ने गर्दछ ।सिरहा सदरमुकाममा समेत सलहेश गहबर छ ।
अहिले नगरपालिकाले करोडौं रकम खर्चेर राजा सलहेशको विशाल मन्दिर निर्माण गरेको छ । त्यहाँ हरेक वर्ष वैशाख २ गते विशाल मेला लाग्छ ।दुसाध र दनुवार जातिका इष्ट देवता हुन् सलहेश । दुसाध र दनुवार समुदायले आजको दिन राजा सहलेशको विशेष पूजा गर्छन् । उनकै नामबाट फूलबारीको नाम ‘सलहेश फुववारी’ रहन गएको छ ।
यस्तो छ मान्यता
१४ औं शताब्दीकै राजा थिए कुहलेश्वर । उनले नै सलहेशलाई राजा बनाएको थियो । कुहलेश्वरका चार छोरी थिए– रेशमा, कुसमा, दोना र हीरा । चारै छोरीहरू सहलेशप्रति आकर्षित थिए । कुसमा अलि विशेष थिइन् । सहलेश भने विवाहित थिए ।राजा सहलेश विवाहित भएपनि कुशमा विवाह गर्न चाहन्थिन् । तर, उनीहरूको प्रेम विवाहमा परिणत हुन सकेन । त्यसैले पनि कुसमा प्रेमको सम्झनामा फूलरूपी दर्शन दिने गरेको सांस्कृतिकविद्हरू बताउँछन् ।नेपाल प्रेसबाट साभार