धरान/ धरान-१६ स्थित सियोन स्कुलमा बुधबार अभिभावक दिवस, दीक्षान्त समारोह तथा वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरिँदा विद्यालय उत्सवमय बनेको थियो।
विद्यार्थीहरूको रंगारंग प्रस्तुति, गर्विला दीक्षान्त क्षण र अभिभावकहरुको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई विशेष बनाएको थियो।
कार्यक्रममा एसकेजीका ६२ जना विद्यार्थीलाई औपचारिक रूपमा दीक्षित गरिएको थियोे ।
प्रमुख अतिथि नेपाल सरकार शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रका शिक्षा तथा समन्वय इकाई प्रमुख खगेन्द्रप्रसाद सुवेदी, स्कुलका प्रिन्सिपल तथा डाइरेक्टर खड्ग बाहादुर मगर, सहायक प्रिन्सिपल राकेश चौधरीले विद्यार्थीलाई दीक्षित गरेका थिए।
गुणस्तरीय शिक्षामा विश्वासिलो – सियोन स्कुल
प्रमुख अतिथि सुवेदीले विद्यालयको गुणस्तरीय शिक्षाले आफू प्रभावित भएको बताउँदै भने, "सियोन स्कुलले कहिल्यै गुणस्तरीय शिक्षामा सम्झौता गर्दैन।
यो विद्यालय अध्ययन-अध्यापनको आदर्श वातावरण सिर्जना गर्न सफल भएको छ।"
उनले शिक्षा राज्यमन्त्री धनकुमारी विश्वकर्माको छोरीलाई समेत आफैँ सिफारिस गरेर सियोन स्कुलमा भर्ना गराएको स्मरण गर्दै, विद्यालयप्रतिको विश्वास दोहोर्याए।
विविध क्षेत्रका व्यक्तित्वको सहभागिता
कार्यक्रममा सशस्त्र प्रहरी बलको धरान सुरक्षा बेस क्याम्पका एसपी सञ्जीव पौडेल, धरान उपमहानगरका शिक्षा महाशाखा प्रमुख गणेशप्रसाद खतिवडा, ट्राफिक प्रहरी प्रमुख निरीक्षक वीरेन्द्र थापा, वडा अध्यक्ष मुरारीप्रसाद भट्टराई, स्कुलका पीआरओ मानबहादुर थापा मगर लगायतको उपस्थिति थियो।
मनोरञ्जन र सम्मानको संगम
विद्यार्थीहरूले गीत, नृत्य, नाटक, कविता तथा कराँतेमार्फत सांस्कृतिक प्रस्तुति दिए।
कार्यक्रममा १००% उपस्थित शिक्षक मिछेल राई, अनुप अग्रवाल र संगीता राईलाई सम्मान गरिएको थियो।
'स्टुडेन्ट अफ दि इयर' र चीन भ्रमणको सम्मान
‘स्टुडेन्ट अफ दि इयर २०८१’ का रूपमा कक्षा १० की स्मृति राई, निनाम राई र कक्षा १२ की एनुम्मा राई, युनिका भण्डारी सम्मानित भए। यस्तै, चीन भ्रमणमा जान लागेका विद्यार्थी रोयन राई, आस्था कुलुङ राईलाई समेत सम्मान गरियो।
सियोन स्कुलमा २०८१ सालदेखि चाइनिज भाषा अध्ययन प्रारम्भ गरिएको छ र अनुभवी प्रशिक्षकद्वारा अध्यापन गरिँदै आएको सहायक प्रिन्सिपल चौधरीले जानकारी दिए।
एकेडेमिक रेकर्ड उत्कृष्ट
गत वर्षको एसईई परीक्षामा ६३ विद्यार्थीमध्ये ६ जनाले ‘ए प्लस’ र ४४ जनाले ‘ए’ ग्रेड ल्याएका थिए। स्कुलमा २४ भन्दा बढी डिग्रीधारी शिक्षक छन्।
प्रिन्सिपल थापा मगरका अनुसार, “अनुभवी शिक्षक, अभिभावकको साथ र विद्यालयको पूर्वाधारका कारण हामी गुणस्तरीय शिक्षामा अब्बल रहन सफल भएका हौँ।”
सुविधासम्पन्न स्कुल
विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुँदै आएको छ। प्लस टु तहमा विज्ञान, व्यवस्थापन, कम्प्युटर साइन्स र होटल म्यानेजमेन्ट विषय छन्।
पाँचवटा स्कुल बस, सफा खानेपानी, बास्केटबल कोर्ट, ट्रस ग्राउन्ड, साइन्स र कम्प्युटर ल्याब, पुस्तकालय, होस्टल, अडियो–भिजुअल कक्षा लगायतका सुविधा विद्यालयमा उपलब्ध छन्।
२०६२ सालमा स्थापना भएको सियोन स्कुल शिक्षा क्षेत्रमा अनुभवी समूहद्वारा सञ्चालित छ र भावनात्मक, मानसिक तथा सामाजिक विकासका पक्षमा समेत उत्तिकै सजग छ।