चतरा/ माझी जातिको कोशी पूजाको अवसरमा शनिबार आयोजित खुल्ला डुङ्गा दौड प्रतियोगितामा जीवन माझी र चन्द्र माझीको जोडी प्रथम बनेका छन् ।
२ मिनेट ३० सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै बराहक्षेत्र–६ का जीवन र चन्द्रको जोडी प्रथम भएका हुन् । उनीहरुले नगद १५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा वराहक्षेत्र–६ का दीपक माझी र वराहक्षेत्र–१ का प्रवीण माझीको जोडी उपविजेता बन्यो । त्यस्तै वराहक्षेत्र–२ का सूर्य माझी र सुन्दर माझीको जोडी तेस्रो भए भने वराहक्षेत्र–६ का कुमार माझी र पुष्प पौडेलको जोडी सान्त्वना बन्यो । उनीहरुले क्रमशः प्रमाणपत्रसहित १० हजार रुपैयाँ र ५ हजार रुपैयाँ प्राप्त गरे ।
१९ प्रतिस्पर्धी समूहबाट विजेता छनोट गरिएको नेपाल माझी उत्थान सङ्घका केन्द्रीय सदस्य तथा संयोजक गुन्जमान माझीले जानकारी दिए । प्रत्येक फागुन महिनाको तेस्रो मङ्गलबार पर्ने लदी पूजाका अवसरमा स्थानीय सरकारले बिदा दिंदै आएको छ ।
यसपाली फागुन २० गते लदी पूजा परेको छ । माझी उत्थान सङ्घले सार्वजनिक बिदाका लागि कोशी प्रदेश सरकारलाई समेत ज्ञापनपत्र बुझाए छ । कोशी किनारमा सुनसरी मोरङ, झापा, उदयपुर लगायतका जिल्लाबाट भेला भएका माझी समुदायले लदी पूजा धूमधाम मनाउने गरेका छन् ।
शक्ति स्वरुपेणी जलदेवी, सेतीदेवीको आराधना गरी कोशी नदीमा राँगा, सुँगुर, पाठी, कुखुरा, परेवाको पन्चवली दिने परम्परा रहेको छ ।
नेपालमा रहेका विभिन्न जातजातिहरू मध्ये छुट्टै पहिचान र विषेशता बोकेको माझी जातिको प्रमुख चाड लदी(कोशी) पूजाका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गर्न समुदायले माग गर्दै आएका छन् ।
माझी समुदायको नेपालको मध्य पहाडी, भित्री मधेश र तराईका जिल्लाहरूमा प्रमुख बसोबास रहेको छ । परम्परादेखि नदी, खोलामा निर्भर माझी समुदायको पुख्र्यौली पेसा माछा मार्ने र डुङ्गा चलाउने भएता पनि हाल कृषि पेसालाई मुख्य पेसाको रूपमा लिँदै आएका छन् ।
छुट्टै इतिहास, भाषा, संस्कार, संस्कृति, पहिचान र विशेषता भएको यो जातिहरूको बसोबास प्रायःजसो नदी किनारमा रहेको छ ।