माओवादीले अन्य पार्टीका ५ हजार कार्यकर्ता भित्र्याउने

  • फागुन ७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले आगामी फागुन १२ गतेदेखि सुरु हुने ‘जनतासँग माओवादी, तराई–मधेश जनजनगरण अभियान’का क्रममा अन्य पार्टीका हजारौं कार्यकर्ता भित्र्याउने दाबी गरेको छ ।

कोशी प्रदेश परिषद बैठकको निर्णय सार्वजनिक गर्न सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्र कोशी प्रदेशले यस्तो दाबी गरेको हो । उक्त अभियान १२ गते झापाको कचनकबलबाट सुरु भई हुलाकी राजमार्ग हुँदै कञ्चनपुरमा समापन गर्ने तय गरिएको छ ।

जसअन्तर्गत कोशी प्रदेशका तीन जिल्ला झापा, मोरङ र सुनसरीमा एक एक दिन अध्यक्ष प्रचण्डसहितका सम्पूर्ण पदाधिकारीको टोली अभियानमा खट्ने माओवादी कोशीका अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले जानकारी दिए ।

जसअनुसार फागुन १२ गते झापाको कचनकवल गाउँपालिकाको बनियानीमा उद्घाटन हुने, बाह्रदशी गाउँपालिका र झापा गागाउँपालिकामा भेटघाट, जनअन्तरक्रिया तथा सभाको आयोजना गर्ने तय भएको छ ।

फागुन १३ गते मोरङको रतुवामाई नगरपालिकाको आमवाडी चौक, कानेपोखरी गाउँपालिकाको रमाइलो चोक, धनपालथान गाउँपालिकाको कर्सिया र विराटनगरमा भेटघाट, जनअन्तरक्रिया तथा सभाको आयोजना गर्ने माओवादीले जनाएको छ ।

यस्तै फागुन १४ गते सुनसरीको बर्जु गाउँपालिकाको चिमडी, गढी गाउँपालिकाको हरिनगरा, लौकही र इनरुवामा भेटघाट, जनअन्तरक्रिया तथा सभाको आयोजना गर्ने तय भएको छ ।

अभियानको क्रममा पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, महासचिव र उपमहासचिवहरुसहितको केन्द्रिय टोली सबै कार्यक्रममा सहभागी हुने अध्यक्ष नेम्वाङले जानकारी दिए ।

यस्तै केन्द्रीय टोलीको विदाईपछि फागुन महिनाभरी हुलाकी राजमार्ग केन्द्रीत प्रदेशस्तरीय अभियान संचालन गर्ने उनले जानकारी दिए । ‘अभियान अवधिमा कम्तीमा ५ हजार अन्य पार्टीका नेता तथा कार्यकता र सामाजिक व्यक्तित्वहरुलाई पार्टी प्रवेश गराउने लक्ष्य रहेको छ । अभियानमा ०६४ मा माओवादीलाई मतदान गर्ने जनतासँग भेटघाट, स्वागत र पुनःर्मिलन गराइनेछ,’ उनले भने ।

अभियानको क्रममा तराई चुरे जनसाङ्गीतिक अभियान ‘समाजवादी संस्कृति र चेतना जागरणको लागि तराई चुरे अभियान’ समेत संचालन गरिने उनले जानकारी दिए ।

अभियानकै क्रममा हिमाली र पहाडी जिल्लाबाट बसाई सराइ वा अन्य कामको शिलसिलामा झापा, मोरङ, सुनसरी, उदयपुरमा रहेका पार्टीका कार्यकर्ता तथा शुभचिन्तकहरुलाई संगठित गर्ने, किसानहरु समस्याहरुलाई समाधान गर्न र सहजीकरण गर्न पार्टीको केन्द्रीय सदस्य र प्रदेशको नेतृत्व र जनप्रतिनिधिहरुमार्फत कृषि मल, बिउ, प्रबिधि, सिंचाइ, कृषि उपजको बजारीकरण र प्रशोधनलगायत समस्याको समाधान गर्न सहजीकरण गर्ने, भ्रष्टाचार, बेथिति, ढिलासुस्ती, कर छली, तस्करी र अनियमितताविरुद्ध निगरानी र भण्डाफोर अभियान चलाउने पनि उनले जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै माओवादी कोशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेल (सितलकुमार)ले निरन्तर अभियान संचालन गरेर माओवादीलाई ६४ सालकै हैसियतमा फर्काउने दाबी गरे ।

माओवादीले ६४ सालमा प्रत्यक्ष र समानुपातिक गरेर २३८ सिट जितेको थियो भने झापा, मोरङ र सुनसरीको २२ सिटमा १० सिट जितेको थियो । ‘हामीले त्यसबेला झापामा ५ सिट, मोरङमा ४ सिट र सुनसरीमा १ सिट जितेका थियौं । किराँतमा त्यसबेला दुई तिहाई जितेका थियौं । लिम्बूवान अलिक कमजोर भयो । अहिले हामी ६४ फर्काउन लागेका छौं,’ उनले भने ।

त्यसको आधार गत मंसिर १५ गते सम्पन्न उपनिर्वाचन रहेको उनले बताए । ‘उपनिर्वाचनमा सिटको हिसावले र मतको हिसावले हामी कोशीमा पहिलो पार्टी बन्यौं,’ गजुरेलले भने ।

उनले ६४ सालमा माओवादीलाई मत दिनेलाई र उनीहरूका सन्तानलाई पनि अभियानका क्रममा संगठित गर्न प्रयास गर्ने बताए । ‘अब हामी जनतासँग भेटघाट र जनसम्बन्ध सुधार गर्नेतिर हामी जान्छौं ।

ऐतिहासिक मिसनको सुरुवात पूर्वबाट भयो,’ गजुरेलले भने ।
उनले माओवादीले काँग्रेसको रुख चिन्हमा छाप हान्ने ठाउँमा पुगेकै कारण कमजोर बन्न पुगेको बताए ।

अब त्यस्तो नहुने पनि उनले दाबी गरे । ‘अहिले तपाईहरुले पत्याउनु हुन्न होला । तर, हेर्दै जानुहोला माओवादीले ८४ सालको निर्वाचनमा एक्लै लडेर पूर्वबाट लिड गर्छ,’ उनले भने ।

 

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

धरान–८ को खहरे पुल ...

 सुनसरी/धरान उपमहानगरपालिका–८ स्थित अरुण टोल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved