धरान/ धरानको दीर्घकालीन समस्या समाधान गर्ने मुख्य एजेण्डा बोकेर स्वतन्त्र उमेदवारीबाट चुनाव जितेका हर्कराज राई धरानमा खानेपानी समस्या हुन थालेपछि प्रदेश र संघीय सरकारले धरानको खानेपानी समस्या समाधानमा यथेष्ट बजेट नदिएको भन्दै भानुचौकमा एक्लै रित्तो गाग्री बोकेर प्रदर्शनमा उत्रिए ।
खानेपानी समस्या हुन थालेपछि सर्वसाधारणको गुनासोलाई डाइभर्ट गर्न उनले केही न केही तिक्डम निकाल्ने गरेका छन् ।
दीर्घकालीन समस्या समाधान गर्न नसकी जनश्रमदानको नाममा अल्पकालीन समस्या समाधानमा अल्झिएर समय व्यथित गर्दै आएका मेयर राईले सर्वसाधारणको ध्यान डाइभर्ट गर्नकै लागि यस्ता तिक्डम गर्ने गरेका छन् ।
धरानको भानुचौकमा रित्तो गाग्री प्रदर्शन गर्दै उनले स्वतन्त्र मेयर भएकै कारण प्रदेश र संघीय सरकारले धरानको खानेपानीको समस्या समाधानमा सहयोग नगरेको आरोप लगाए । उनले धरानमा बर्षौदेखि धरानमा खानेपानी समस्या हुदा आफूले अल्पकालीन समस्या समाधान गरे पनि भावी पुस्ताका लागि दीर्घकालीन समस्या समाधानमा सरकारलाई झक्झकाउनकै लागि विरोध स्वरुप रित्तो गाग्री प्रदर्शन गरेको बताए ।
साम्पाङ २०७९ वैशाख ३० मा भएको चुनाव जितेर नगर प्रमुख भएका हुन । नगरप्रमुख भएको दुई बर्षमै चारैतिर विवादमा ताँनिदै आएका छन् । उनले श्रमदानबाट ल्याएको भनिएको कोकाको पानी समेत डिपिआर विना प्लाष्टिकको पाइपबाट ल्याएका थिए ।
जनश्रमदान भनिए पनि ७ करोड खर्च लागेको जनाइएको सो खानेपानी योजना खासै प्रभावकारी बन्न नसकेको धरान १७ का स्थानीयहरुले बताउददै आएका छन् ।