काठमाण्डौ/ आउँदो मङ्सिर १६ गते हुने पालिकाको उपचुनावका लागि दलहरु उम्मेदवार छनोटमा व्यस्त भएका छन् ।
मङ्सिर २ गते उम्मेदवार मनोनयन दर्ता कार्यक्रम भएकाले दलहरु तयारीमा लागेका हुन् ।काठमाण्डौको कीर्तिपुर नगरपालिकाका मेयर, दैलेखको महाबु गाउँपालिका अध्यक्ष र मोरङको ग्रामथान गाउँपालिका अध्यक्षसहित पालिकाका रिक्त ४४ पदमा उपचुनाव हुन लागेको हो ।
यसअघि पालिकाका ३९ पदमा उपचुनाव हुने भनिए पनि घोषणा भइसकेपछि थप ५ पद रिक्त हुन पुगेकाले सबै ४४ पदमा उपचुनाव हुने आयोगले जनाएको छ ।
आयोगका अनुसार एक नगरपालिकाका मेयर र दुई गाउँपालिकाका अध्यक्षसहित जाजरकोटको नलगाड नगरपालिकाको उपमेयर, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष, बाजुराको स्वामीकार्तिक खापर गाउँपाालिका उपाध्यक्ष, पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष र बाँकी वडाध्यक्ष पदका लागि उपचुनाव हुनेछ ।
मेयरको लागि एक ठाउँमा मात्रै उपचुनाव हुन लागेकाले दलहरुको ध्यान कीर्तिपुरमा बढी केन्द्रित भएको छ ।
नेपाली कांग्रेसबाट निर्वाचित राजकुमार नकर्मीको निधन भएकाले कीर्तिपुर नगरपालिकाको मेयर पदमा उपचुनाव हुन लागेको हो ।कांग्रेस कीर्तिपुर नगर समितिले मेयरका लागि कृष्णमान डंगोल, बद्रीलाल महर्जन, हिमाल कार्की, जमुना नकर्मी, संगीत बोगटी, सशीर महर्जन, राममान सिंह, जनकलाल महर्जन, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जनको नाम सिफारिस गरेको छ ।
नेकपा एमालेल सुरेन्द्र मानन्धरलाई सर्वसम्मत रुपमा मेयरको उम्मेदवार सिफारिस गरेको छ । यस्तै नेकपा माओवादी केन्द्रले प्राध्यापक शिवशरण महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पालिका उपचुनावको लागि निर्वाचन आयोगमा २५ वटा दल दर्ता भएका छन् ।